धरान: धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकाश निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेका छन् ।

प्रमुख ५ राजनीतिक दलका धरान नेतृत्वहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनीहरुले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनले उचित समाधानको निकाश नदिई स्वास्थ्य सेवा नै ठप्प पारिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । 

प्रतिष्ठानका दुवै पक्षलाई उपयुक्त समाधानमार्फत स्वास्थ्य सेवा तत्काल सुचारु नगरे राजनीतिक दलहरुले जस्तोसुकै मुल्य चुकाउन समेत तयार रहेर प्रतिष्ठानको सेवा सुचारु गराइने घोषणा समेत दलहरुले विज्ञप्तीमार्फत गरेका छन् । राजनीतिक दलहरुले उक्त विज्ञप्तीको बोधार्थ कुलपति एवं प्रधानमन्त्री र सहकुलपति एवं स्वास्थ्यमन्त्रीलाई पनि दिएका छन् ।

विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जसपाका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईले हस्तक्षर गरेका छन् । 

press