धरान: बजेट अभावको कारण निर्माणको क्रममा अलपत्र परेको नाटक घरलाई श्रमदान अभियानमार्फत पुर्णता गराइदिन धरानका रंगकर्मीहरुले मेयर हर्क साम्पाङलाई आग्रह गरेका छन् । 

नाटक घर निर्माण उपभोक्ता समितिले मंगलबार मेयर साम्पाङलाई प्रस्तावनासहित ज्ञापन पत्र बुझाउदै श्रमदान अभियानमार्फत निर्माण कार्यलाई पुर्णता दिन आग्रह गरेका हुन् । धरान ८ स्थित सभागृह परिसरमा निर्माणाधिन सुविधा सम्पन्न नाटक घर बजेट अभावले अलपत्र अवस्थामा छ । कोभिड महामारीको कारण बजेटहरु कटौती भएको र देश, विदेशबाट आउन लागेको सहयोगलाई पनि असर परेपछि निर्माणाधिन नाटक घर अहिले अलपत्र भएको उपभोक्ता समितिका सचिव तथा निर्देशक अरुण प्रधानले बताए । 

सचिव प्रधानले अलपत्र अवस्थाको नाटक घरलाई पुर्णता दिन मेयर साम्पाङको श्रमदान अभियानमार्फत आर्थिक संकलन र श्रमदान गराउन आग्रह गरिएको बताए । मेयर साम्पाङको नेतृत्वमा श्रमदान अभियान शुरुवात भएमा सम्पुर्ण रंगकर्मी तथा कलाकर्मीहरुले सहयोग गर्ने पनि उनको भनाई छ ।

‘मेयर ज्युले नेतृत्व लिनुभएर टिम बनाउनु भयो भने हामी सबै लाग्छौं । यहाँका रंगकर्मी, साहित्यकार, गायकहरु सबै नै जुट्नेछौं,’उनले भने,‘रंगकर्मको लामो इतिहास बोकेको र कलाकारहरुको सहरमा व्यवस्थित थिएटर छैन । यो नाटक घर नाटक देखाउनलाई मात्र होइन, बहुउपयोगी हो ।’

श्रमदानबाट निर्माण कार्य पुरा गर्ने मेयर साम्पाङले प्रतिवद्धता नजनाए सम्पुर्ण रंगकर्मीहरुले अलपत्र नाटक घर उपमहानगरपालिकालाई हस्तान्तरण गरेर समितिबाट राजिनामा दिने र अर्को स्थानमा नाटक घर निर्माणको विकल्प खोज्ने पनि समितिले जनाएको छ ।

मेयर साम्पाङले नाटक घर आवश्यक भएपनि बजेट अभावकै कारण प्राथमिकतामा राख्न नसकिएको बताए । उनले सभागृहकै बेहाल अवस्था भएकोले शुरुमा सभागृहलाई मर्मत गर्ने सोच बनाएको पनि बताए । साथै, श्रमदान मार्फत निर्माण गर्नेबारे सोचेर मात्र जवाफ दिने मेयर साम्पाङको भनाई थियो । ‘श्रमदानबाट बनाउने कुरा त राम्रो हो, तर अहिले अरु नै प्राथमिकतामा छ । नाटक घर पनि आवश्यक छ,’ मेयर साम्पाङले भने । 

mayor harka

  सभागृह परिसरको २ कट्ठा क्षेत्रफलमा धरान नाटक घर निर्माणाधिन रहेको छ । उपभोक्ता समितिका अनुसार नाट्यकर्मीहरुको आग्रहमा सुनसरी क्षेत्र नं १ का पुर्व. संघीय सांसद जयकुमार राईले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रअन्तर्गत ४० लाख बजेट विनियोजन गरेपछि २०७७ असार ४ गतेदेखि निर्माण कार्य प्रारम्भ भएको थियो । अर्को बर्ष स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमबाट नै थप १५ लाख र धरान उपमहानगरपालिबाट १८ लाख विनियोजन भएको थियो भने तेस्रो बर्ष सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट १५ लाख बजेट विनियोजन भएको थियो । 

यो नाटकघर २ सय भन्दा बढी दर्शक क्षमता भएको अन्तर्राष्ट्रियस्तरकको प्रदेशकै सुविधा सम्पन्न हुने बताइएको छ । नाटकघरमा चित्रकला, मुर्तिकला प्रर्दशनी कक्ष, कार्यशाला कक्ष, भिआइपी लञ्ज, इर्मजेन्सी एक्जिट, अपांगमैत्री भर्याङलगायत पनि निर्माण हुनेछ । नाटक घर परियोजना निर्माण गर्न सिभिलतर्फ ५ करोड ४५ लाख ३२ हजार १४० र मञ्च, कुर्सी, प्रकाश व्यवस्था, ध्वनी व्यवस्था, चलचित्र प्रोजेक्सनसहित अन्य आन्तरिक व्यवस्थापनतर्फ ३ करोड गरि कुल ८ करोड ४५ लाख ३२ हजार १४० रुपैया बजेट आवश्यक पर्ने लागत अनुमान रहेको उपभोक्ता समितिले जनाएको छ । 

भिडियो: