धरान: नेपालकै एक चर्चित फुटबल प्रतियोगिता हो, धरानको बुढासुब्बा गोल्डकप । शनिबार २४ औं सँस्करणको उद्घाटन भइसकेको छ । 

तर, उद्घाटन समारोह भने प्रमुख अतिथि नआइदिदा आयोजक लज्जित मात्र हुनुपरेन, आलोचना पनि खेप्नुपरिरहेको छ । उद्घाटन समारोहका प्रमुख अतिथिकोरुपमा मेयर हर्क साम्पाङलाई निमन्त्रणा गरिएको थियो । बिशेष अतिथिकोरुपमा उपमेयर अइन्द्रबिक्रम बेघा निम्त्याइएका थिए । तर, उद्घाटन समारोहमा स्थानीय सरकारका प्रमुख र उपप्रमुख दुवै अनुपस्थित थिए । 

प्रमुख अतिथि नआएपछि बिशिष्ट अतिथिकारुपमा निम्त्याइएका एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले नै रेफ्रीलाई वल हस्तान्तरण गरेर र गोल्डकपको बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए । उनले उद्घाटन समारोहमा प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएकोमा आलोचना गरे ।

‘हामी सबैले मानेको सरकार, आशा गरेको स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर या उपमेयर यत्रो ठुलो कार्यक्रममा आउनुहुन्न । यत्रो ठुलो महाकुम्भको प्रतियोगिता भइरहेको छ, तर खै उहाँको उपस्थिति ?,’ उनले भने,‘बजेट पनि हात्तिको मुखमा जिरा जस्तो छुट्याएको छ । कुरा ठुलो ठुलो तर काम जिरो भइरहेको छ ।’

फुटबलको विकासलाई स्थानीय सरकारले गम्भीरतापुर्वक लिनुपर्ने उल्लेख गर्दै उनले त्यसो नगरे संघर्ष गर्ने पनि उनले चेतावनी दिए । बुढासुब्बा गोल्डकपलाई अन्तर्राष्ट्रिय आमन्त्रण भनिएपनि पूजी अभावले त्यो स्तरमा आयोजना गर्न नसकिएको उनको भनाई थियो । ‘सबैको गोल्डकपको हो यो । अन्तराष्ट्रिय भनेका थियौ तर त्यही किसिमको पूजी पनि चाहिन्छ,’ गोल्डकप आयोजक धरान फुटबल क्लबका संस्थापक तथा निवर्तमान अध्यक्षसमेत रहेका राईले भने । 

प्रमुख अतिथिकारुपमा निम्त्याइएका नगर प्रमुख राई शनिबार श्रमदानमा ब्यस्त हुन्छन् । आज पनि उनी आरा धरान क्षेत्रमा श्रमदानमा थिए । उपप्रमुख बेघा खेल उद्घाटन भइसकेपछि पुगेका थिए । तर उनलाई आसन ग्रहण गराउन आयोजकले ढिलाइ गरेपछि उठेर हिडेका थिए ।

पत्रकार रत्न आचार्यले यही घटनालाई सामाजिक सञ्जालमा उल्लेख गर्दै आयोजक क्लबको चर्को आलोचना गरेका छन् । उनले प्रमुख अतिथि मेयर नआएको, उपमेयर आएपनि अतिथि आसन ग्रहण नगराएको र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठलाई पनि आसन ग्रहण नगराएपछि दुवै जना मञ्चबाट बाहिर निस्किएको उल्लेख गरेका छन् । 

धरान वडा नं १३ का समाजसेवी घनश्याम तिम्सिनाले पनि सामाजिक सञ्जाल फेसबुकमा प्रतिष्ठित फुटबल खेल बुढासुब्बा गोल्डकप धरान उपमहानगरको नेतृत्वबाट उपेक्षित भएको भन्दै आलोचना गरेका छन् ।

भिडियो: