धरान: मानव बसोबास शुरु भएको एक सय बर्ष पुगेको अवसरमा धरान वडा नं ६ स्थित पानवारीमा शनिबारदेखि पानबारी शतबार्षिकी महोत्सव शुरु हुदैछ । 

आयोजक सयपत्री ब्वाइज युनियन क्लब र संयोजन रहेको ६ नम्बर वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । फागुन २६ गतेदेखि चैत २ गतेसम्म हुने महोत्सवले पानवारीको सय बर्षे इतिहासलाई स्मरण गर्दै विकासको सम्भावनालाई पनि थप उजागर गर्ने अपेक्षा राखिएको आयोजकको भनाई छ । 

वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले हिजो र आजको पानवारीको शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, कृषिलगायतको अवस्था, भुगोल, चिनारी, पहिचान र सँस्कृति झल्काउने गरि शतबार्षिकी महोत्सव गरिएको बताए । ‘हिजो गाविस थियो, आज उपमहानगरपालिका भएको छ । यहाँको विगत र वर्तमानको चिनारी, पहिचान र सस्कृति झल्काउन महोत्सव गदैछौं,’उनले भने,‘यो हाम्रो चाड हो, हरतवरले सफल बनाउनुपर्छ ।’

महोत्सवका संयोजक तथा क्लबका उपाध्यक्ष राजेन्द्र न्यौपानेले महोत्सवको तयारी पुरा भएको र शनिबार उद्घाटन हुने बताए । महोत्सवकै अवसरमा छैटौं पानवारी भलिवल कप २०८० को पनि आयोजना हुने उनले बताए । प्रतियोगितामा विभिन्न ८ वटा टिमले सहभागिता जनाएको र शनिबार उद्घाटन खेल आयोजक क्लब र धरान उपमहानगरपालिकाबीच हुनेछ । 

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ३० हजार पुरस्कार दिइनेछ भने अन्य व्यक्तिगत विधामा उत्कृष्ट घोषित खेलाडीले जनही १५ हजार पाउनेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच ५ हजार पुरस्कार दिइने पनि संयोजक न्यौपानेले जानकारी दिए । 

महोत्सवस्थलमा ५० वटा स्टल राखिएको छ भने प्रत्येक साँझ चर्चित कलाकार तथा ब्याण्डहरुको प्रस्तुती रहनेछ । यस्तै, मनोरञ्जनको लागि रस्सीतान, रोटेपिङ, नाउ, ड्रागन पनि राखिएको छ भने स्थानीय उत्पादन, सहुलियत बजार पनि हुनेछ । 

panbari fest

कोशी प्रदेशका सांसद एवं तत्कालिन पाँचकन्या गाविसका अध्यक्ष रमेश बस्नेतले पानवारीको माथिल्लो पहाडी क्षेत्रमा राजारानी भन्ने ठाउँ रहेको र त्यहाँको दरबारमा राजारानी बस्ने गरेको किंबदन्ती रहेको बताए । पुरातान्विक वस्तुहरु अहिले पनि भेटिने उनले बताए । त्यो बेलाको राजाले यहाँको राम्रो बारीको पान खाने गरेकोले यो ठाउँको नाम पानवारी रहन गएको किंबदन्ती रहेको उनले बताए । यसले यहाँ सदियौं अगाडि बस्ती रहेको पुष्टि हुने उनले बताए । 

यस्तै, पछिल्लो समय वि.स.१९७० देखि ८० को दशकमा चौबिसे क्षेत्र र हालको धरानकै हर्दिया, ढाडे, तेलनपुरका मानिसहरुले पानवारीमा खेती गर्ने र औलो लाग्नबाट जोगिन बेलुकी फर्केर जाने गरेको इतिहास पाइएको सांसद बस्नेतले बताए । यही इतिहासलाई मानेर शतबार्षिकी महोत्सव आयोजना हुन लागेको उनले बताए । विगतमा घरधुरी थोरै भएको र यहाँको कृषि उत्पादन धेरै हुँदा बिक्री पनि हुने गरेको उनले बताए । यहाँको पानबारी ब्राण्डको मन्सुली चालम चर्चित भएपनि अहिले सहरीकरणसँगै कृषि क्षेत्र मासिदै गएर उत्पादन हुन छोडेको पनि उनले बताए । नेपाल सरकारको कृषिको भुउपयोग नीतिले पनि कृषि क्षेत्र मासिदै गएको उनको भनाई थियो।

पानवारी विगतमा पाँचकन्या गाविस अन्तर्गत वडा १, २ र ३ थियो । तर २०७१ बैशाख १६ गते धरान नगरपालिकामा समायोजन भएर २३ नम्बर वडा भएको थियो भने २०७१ मंसिर २५ गते विष्णुपादुका गाविस पनि धरानमा समायोजन भएपछि वडा नं ६ बनेको छ । २०७८ को जनगणना अनुसार यहाँ ८ हजार ९३४ जनसंख्या रहेको छ । यहाँ २ वटा सरकारी विद्यालय, ५ वटा निजी विद्यालय रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकको शाखा, लघुवित्त संस्था, सहकारी कार्यालयदेखि नापी र मालपोत कार्यालय पनि स्थापना भइसकेको छ । मदन भण्डारी राजमार्ग पनि पानवारी हुदै गएकोले थप विकासमा फड्को मार्ने अपेक्षा स्थानीयको छ । 

भिडियो: