धरान: तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा हाम्रो इटहरी भेट्रान क्लब फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा राजारानी भेट्रान क्लब धनकुटालाई १-० को झिनो गोलअन्तरले हराउदै हाम्रो इटहरी फाइनल प्रवेश गरेको हो । पहिलो हाफको २५ औं मिनेटमा इटहरीका लिलाराम मगरले खेलको निर्णायक गोल गरेका थिए । 

दोस्रो हाफको १६ औं मिनेटमा राजारानी भेट्रानले पेनाल्टीमा खेल बराबरी गर्ने मौका थियो । तर, सुमन श्रेष्ठको प्रहार बाहिरिएपछि राजारानीले बराबरी गर्ने अवसर गुमायो । उक्त खेलको म्यान अफ दि म्याच हाम्रो इटहरीका तीर्थबहादुर यक्सो घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिताको फाइनलमा शनिबार हाम्रो इटहरीले धरान भेट्रान क्लबसँग उपाधिको लागि खेल्नेछ । मंगलबार भएको खेलमा दुधे भेट्रान झापासँग धरान भेट्रान पराजित भएको थियो । तर, दुधेले कम उमेरको खेलाडी समावेश गरेको भन्दै धरानले प्रोटेस गरेको थियो । दुधे भेट्रानलाई खेलाडीको उमेर खुल्ने कागजातसहित चौबिस घण्टाभित्र उपस्थित हुन जानकारी गराउदा पनि सम्पर्कमा नआएपछि पराजित भएको धरान भेट्रान फाइनल खेल्ने निर्णय भएको आयोजकले जानकारी दिएको छ ।