विराटनगर: प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ ।

एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्फ काँस्य पदक विजेता १० जना खेलाडी सम्मानित भएका छन् । यसैगरि, टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, टीमतर्फ रजत पदक विजेता २२ जना र टीमतर्फ काँस्य पदक विजेता ४१ जना गरि ८८ खेलाडी सम्मानित भएका हुन् । उनीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सम्मानित गरेका छन् ।

सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले नगदरसहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुको खेल क्षेत्रमा हौसला बढेको बताए । ‘प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेकोमा ज्यादै खुशी लागेको छ,’फुटवल खेलाडी सुजल श्रेष्ठले भने ।

kheladi-samman-(1)

सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाखदेखि ७५ हजार ५ सयसम्म, एकल र टीमतर्फ रजत विजेतालाई १ लाख देखि ६० हजारसम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय, खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेका छन् ।

खेलकुदलाई उच्च प्राथमिकता दिएका छौं: मुख्यमन्त्री

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको उल्लेख गर्दै मुख्यमन्त्री राईले भने, हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।

खेलाडीहरुले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताए । उनले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताए । उनले भने,'खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ ।' मुख्यमन्त्री राईले खेलाडीहरुलाई व्यवसायीक ढंगबाट अगाडि बढ्न समेत आग्रह गरे । 'तपाईहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन,'उनले भने,'खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नुहुदैन ।'

kheladi-1

सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशाको रुपमा लिनुपर्ने धारणा राखे । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविकोपार्जनको माध्यमरुपमा समेत लिनुपर्ने बताए । उनले कोरोना भाईरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उनले बताए ।