धरान: धरान उपमहानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि पहल आयोजनामा सहभागी श्रमिकहरुलाई कदर पत्रद्धारा सम्मान गरेको छ । 

उपमहानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा विभिन्न वडामा रोजगार कार्यक्रममा सहभागी श्रमिकहरुलाई कदर पत्रद्धारा सम्मान गरेको हो । कार्यक्रम उपमेयर अइन्द्रबिक्रम बेघाको अध्यक्षतामा भएको थियो । एकै समयमा उपमहानगरपालिको दुईवटा कार्यक्रम आयोजना भएपछि मेयर हर्क साम्पाङ भने यो कार्यक्रममा सहभागी हुन भ्याएनन् ।

उपमेयर बेघाले संक्षिप्त सम्बोधन गर्दै श्रमप्रति सम्मान गर्नेहरुलाई राज्यले नीति बनाएर जोड्न खोजिरहेको बताए । ‘योजनाहरु बनाएर श्रममा जोड्ने र सम्मान गर्ने काम गरिएको हो । तपाईहरुले काम पनि गर्नुभएको छ, दुःख पनि गर्नुभएको छ । राष्ट्रको लागि पनि भयो, आफने लागि पनि भयो,’ उनले भने,‘यो श्रम अभियानमा तपाईहरु सरिक भएर श्रमलाई सम्मान गर्दे राष्ट्रलाई पनि योगदान गर्नुभएको हो । यस्ता कार्यक्रमहरुले श्रमले पनि केही गर्न सकिन्छ है भन्ने सन्देश दिएको छ ।’

pm rojgar2

 प्रशासन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाले काम गरिरहेका बेला मात्र मान्छे सुन्दर देखिने धारणा राखे । ‘मानिस त्यतिकै हिडिरहेको छ भने हामीलाई मन पर्दैन, देख्दै रिस उठ्छ । तर जो काम गरिरहेको छ, उ मात्र धेरै मन पर्छ । तपाईहरु सबै काम गर्ने सुन्दर मान्छेहरु हुनुहुन्छ,’ सापकोटाले भने,‘जो मान्छे काम गर्दैन, उसलाई मात्र अन्नले सराप्छ, काम गर्यौं भने अन्नले साथ दिन्छ ।’ 

वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले कदरपत्र पाए पछि आफुले गरेको कामको स्मरण पछिसम्म रहिरहने बताए । ‘पछि श्रम गरेको स्थानमा पुग्दा पनि आफुले विगतमा गरेको योगदान स्मरण हुन्छ । यो कदरपत्रले तपाईका नाती, पनातीहरुले पनि हाम्रो बाजे, बजुले काम गरेको भनेर गर्व गर्नेछन्,’उनले भने ।

उपमहानगरकी निर्मला बस्नेतका अनुसार न्युनतम रोजगारी १०० दिनको र न्युनतम ज्याला प्रतिदिन ६६८ मात्र हुन्छ । न्युनतम ज्यालामा पनि आफ्नो गाउँ आफै बनाउ भन्ने भावनाका साथ ८ घण्टा राम्रो काम गरेको हुनाले श्रमको सम्मान गर्दै कदर पत्रसहित सम्मान गरिएको उनले बताइन् ।

सेवा केन्द्रका अनुसार वडा नं ४ मा जना श्रमिकले सय दिन रोजगार पुरा गरेर १३ लाख ३६ हजार रुपैया भुक्तानी पाएका थिए । उनीहरुले खैरेनीटार वडा पार्क निर्माण, खैरेनीटार सार्वजनिकस्जथल निर्माण आयोजनामा काम गरेका थिए । यस्तै, वडा नं २० मा २० जनाले सय दिनको रोजगारी पाएका थिए । उनीहरुले पनि १३ लाख ३६ हजार भुक्तानी पाएका थिए । 

pm rojgar1

वडा २० मा कालीखोला, चिण्डेडाँडा, बाघखोप, धार्ने सडक मर्मत तथा सरसफाई आयोजनामा काम गरेका थिए । यस्तै, विष्णुपादुका सडक खण्ड सरसफाई आयोजना, विष्णुपादुका सडकखण्डमा भुक्षय रोक्न तारजाली निर्माण, वीपी पार्कदेखि पिपल डाँडासम्म सडक खण्ड सरसफाई, कोकाह खोलादेखि छुमाला बाक्लो टोल सडक सरसफाई आयोजना, भञ्ज्यांङदेखि सरस्वती डाँडा सडकखण्ड सरसफाई र देवीगाउँ ड्रेन निर्माणमा काम गरेका थिए ।

यसैगरि, वडा नं ५ मा १५ जनाले सय दिन रोजगारी गरेर १० लाख २ हजार भुक्तानी पाएका छन् भने थप १० जना श्रमिकले ३२ दिन रोजगारी पाएर २ लाख १३ हजार ७६० रुपैया भुक्तानी पाएका छन् । उनीहरुले सि.हलाईन पुर्वतर्फ ड्रेन निर्माण, लक्ष्मी मार्ग ड्रेन निर्माण तल्लो देउराली, फुलबारी मार्ग देउराली सडक स्तरोन्नती तथा ड्रेन निर्माण आयोजनालगायत विभिन्न १६ वटा आयोजनामा काम गरेका थिए । 

यस्तै, वडा नं ६ मा ४ जना श्रमिकले ४३ दिन रोजगारी पाएका थिए । उनीहरुले सुनौलो बाल क्लब भवन निर्माणमा श्रम गरेर १ लाख १४ हजार ८९६ रुपैया भुक्तानी पाएका छन् । यसैगरि, वडा नं १६ का पाँच जना श्रमिकले ८१ दिन रोजगारी पाएर २ लाख ७० हजार ५४० रुपैया भुक्तानी पाएका छन् । उनीहरुले वडाका ड्रेनहरुमा सरसफाई गर्नुका साथै सर्दु तटबन्धन पहिला र दोस्रो चरणमा काम गरेको नमुना रोजगार सेवा केन्द्रले जानकारी दिएको छ । 

भिडियो: