धरान: लामो समयदेखि रोकिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत कर्मचारी तथा शिक्षकहरुको बढुवा नतिजा प्रकाशित भएको छ ।

प्रतिष्ठानले बिहिबार एक विज्ञप्ती जारी गर्दै कर्मचारी तर्फ १४ वर्ष तथा शिक्षक तर्फ ६ वर्षदेखि थाँती रहेको बढुवा प्रकृयाले निकास पाई नतिजासमेत प्रकाशित भएको जानकारी दिएको छ। लामो समयदेखि रोकिएको वृत्तिविकास अघि बढेपछि कर्मचारी तथा शिक्षकहरुमा खुशी छाएको प्रतिष्ठाकी प्रवक्ता प्रा.डा.अञ्जु प्रधानले बताइन् । बढुवाको गाँठो फुकिएर नतिजासमेत आएपछि लामो समयदेखि निराश बनेका शिक्षक, कर्मचारीहरु अहिले भने हर्षित भएको उनको भनाई छ ।

प्रवक्ता प्रधानका अनुसार शिक्षक तथा कर्मचारीहरुको फायल मूल्यांकन तथा अन्तर्वार्ता प्रकृयाबाट आन्तरिक एक तह बढुवाको नतिजा गत असार २७ गते प्रकाशित भएको थियो । यो प्रकृयाका लागि २०७९ पुष २० गते शिक्षक तथा कर्मचारीहरुको एक तह बढुवा तथा स्तरवृद्धी र २०७९ माघ २५ गते करार सेवामा पदपूर्ति गर्न प्रतिष्ठानबाट सूचना जारी गरी आवेदन माग गरिएको थियो । 

आवेदन दिनेहरु मध्ये शिक्षकतर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ भने कर्मचारी तर्फ स्थायी, परफर्मेन्स करार, करार गरी ४ सय ९ जनाको एक तह बढुवा भएको प्रवक्ता डा.प्रधानले जानकारी दिइन् । यस्तै, ३ सय ९ जनाको स्तर वृद्धि भएको पनि उनले खुलाइन् ।

प्रतिष्ठान आफैले शुरु गरेको बढुवा प्रक्रिया बीचमा रोकिदा शिक्षक तथा कर्मचारीहरुले पटक पटक आन्दोलन गर्नुपरेको थियो । आन्दोलनले पठनपाठन र उपचार सेवा पनि प्रभावित हुन पुगेको थियो । उच्च अदालतमा मुद्दासमेत परेर स्टे अर्डर जारी भएर कानुनी उल्झनमा पनि परेको बढुवा प्रक्रिया पछि अदालतले नै आदेश दिएपछि सुचारु भएको थियो ।