धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित दश राजनीतिक दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउन्टरहरुमा पनि तालाबन्दी गरेका छन् ।

बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई सोमबार बिहान १० बजेसम्म समय दिएपनि वेवास्ता गरेको भन्दै राजनीतिक दलहरुले सबै बिल काउन्टरहरुमा ताला लगाएको हो । राजनीतिक दलहरुले आज बिहान एकै समयमा वडा नं १५ को वडा कार्यालयमा रहेको काउन्टर, वडा नं ११ र वडा नं १६ स्थित खानेपानीको बिल बाउन्टरमा तालाबन्दी गरेको हो । 

राजनीतिक दलहरुले काउन्टरमा पनि तालाबन्दी गरेपछि बोर्डको आर्थिक कारोबार ठप्प हुने स्थिति बनेको छ । हिजो पनि राजनीतिक दलहरुले बोर्डका अध्यक्षको कार्यकक्ष, कार्यकारी निर्देशकको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको थियो । त्यसक्रममा सोमबार बिहान १० बजेसम्म पनि मेयर साम्पाङले वार्तामा नबोलाए बिल काउन्टरहरुमा ताला लगाउने दलहरुले घोषणा गरेको थियो ।

bill counter copy

साउन १ गतेदेखि लागु हुने गरि खानेपानी बोर्डले विभिन्न शिर्षकमा खानेपानीको महशुल वृद्धि गरेपछि राजनीतिक दलहरु आन्दोलित छन् । उनीहरुले साम्पाङको एकल निर्णयबाट वृद्धि भएको महशुल पुरानै दररेट कायम नभएसम्म आन्दोलन नरोकिने पनि बताएका छन् । दश राजनीतिक दलहरुले संयुक्त अपिल जारी गर्दै सर्वसाधारण उपभोक्ताहरुलाई बिल नतिर्न पनि आह्वान गरेका छन् । 

बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङले भने आइयुडिपी प्रोजेक्टको लागि एडिबिबाट लिएको ऋण तिर्नको लागि महशुल वृद्धि गर्नुपरेको भन्दै स्पष्टीकरण दिएका छन् । गत बर्षको साँवा र ब्याज गरेर ६ करोड १ लाख ११ हजार ६८ रुपैया असारसम्म तिर्न नसेकेको र नगर विकास कोषले निरन्तर ताकेता गरिरहेको उनको भनाई छ । साथै, तिर्नुपर्ने कुल बक्यौता ऋण भने ५७ करोड १९ लाख रहेको र उक्त ऋण मिनाह भए मात्र महशुल वृद्धिको निर्णय फिर्त लिने उनले बताएका छन् ।

भिडियो :

भिडियो: