धरान: तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ ।

आयोजक सञ्जीवनी केन्द्रले धरान १० पुतलीलाइनस्थित ज्वाई खानामा मंगलबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । असोज ३ देखि ५ गतेसम्म धरान १६ अन्नपुर्ण चोकस्थित बिबि फुटसलमा हुने प्रतियोगितामा ओपन रिकभरिङ, भेट्रान रिकभरिङ र महिला रिकभरिङको छुट्टाछुट्टै स्पर्धा हुनेछ । 

अध्यक्ष सम्पुर्ण ताम्राकारका अनुसार प्रतियोगितामा ओपन विधातर्फ १४ टिम, भेट्रानमा ७ र महिलातर्फ ३ वटा टिमले सहभागीता जनाउने भएको छ । प्रतियोगितामा धरान, बेलबारी, विराटनगर, चितवन, काठमाण्डौंसँगै भारतको सिलगुडी, सिक्किम, दार्जिलिङबाट पनि टिम सहभागी हुने अध्यक्ष ताम्राकारले जानकारी दिए । भुटानबाट पनि टिम सहभागी हुन तीब्र इच्छा गरेपनि भिषा प्रक्रियाको कारणले यसपाली सम्भव नभएको उनले बताए ।

प्रतियोगितामध्ये भेट्रान र महिला लिगकम नकाउटको आधारमा हुनेछ । भेट्रानमा लिग चरणको दुई समुहको विजेता र उपविजेता सेमीफाइनल खेल्नेछ । महिलातर्फ ३ वटा मात्र टिम भएकोले लिगचरणबाट एउटा टिम बाहिरिनेछ, र बाँकी २ टिमले फाइनल खेल्नेछ । ओपन क्याटोगरीको स्पर्धा भने नकआउट आधारमा खेल हुने आयोजकले जानकारी दिएको छ । 

बिहिबार प्रतियोगिताको उद्घाटन खेल भारतको रिकभरिङ नर्थ सिक्किम र रिकभरिङ बेलबारीबीच हुनेछ । उद्घाटन समारोहको प्रमुख अतिथि कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) रहने पनि आयोजकले जनाएको छ । 

sanjivani1 copy

ओपन रिकभरिङतर्फको विजेताले नगद २ लाख पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । यो पुरस्कार नेपालमा रिकभरिङ फुटसलतर्फको सर्वाधिक धेरै पुरस्कार राशी हो । भेट्रानतर्फ विजेताले नगद ५० हजार, दोस्रो हुने टिमले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

यस्तै, महिलातर्फ विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछ । व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी पाउनेछ भने ओपन रिकभरिङ स्पर्धामा सेमीफाइनलदेखि म्यान अफ दि म्याच पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

लागुऔषध दुव्यर्वसन त्यागेका युवायुवतीहरुलाई खेलकुदको माध्यमबाट समाजमा पुर्नस्थापित हुन थप उत्प्रेरणा दिलाउन प्रतियोगिता आयोजना गरिएको आयोजक केन्द्रका सल्लाहकार एवं संरक्षक रोषु रेग्मीले बताए । विगतमा आयोजना भएको प्रतियोगिताको सफलताले रिकभरिङहरुलाई प्रेरित पनि गरेको हुनाले यसपाली थप उत्साहित भएर सहभागीता जनाएको उनले बताए । 

प्रतियोगितामा १५ लाख बढी खर्च हुने अनुमान आयोजकको छ । प्रदेश खेलकुद विकास बोर्ड, उपमहानगरपालिका, वडामा पनि प्रस्तावना पेश गरिएको भएपनि के कति रकम प्राप्त हुन्छ भन्ने स्पष्ट भएको छैन । ‘प्रस्ताव पेश गरेका छौं, यति नै रकम आउछ भन्ने यकिन छैन । साथीभाईहरु, संस्था र व्यक्तिगतरुपमा नै खर्च व्यवस्थापन गरिरहेका छौं,’अध्यक्ष ताम्राकारले भने ।