धरानः तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको फाइनलमा ओपन रिकभरिङ्गतर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ युनाइटेड फेलोसिपबीच उपाधि भिडन्त हुने भएको छ ।

धरान १६ स्थित बिबि फुटसलमा जारी प्रतियोगिताको फाइनल शनिबार हुदैछ । यस्तै, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरानबीच फाइनल भिडन्त हुनेछ भने महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरीबीच उपाधिको लागि भिडन्त हुने आयोजक सञ्जिवनी केन्द्रले जनाएको छ । 

प्रतियोगिता असोज ३ गते देखि सुरु भएको थियो । ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र दार्जिलिङ युनाइटेडले डिआर एफसि धरानलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दार्जिलिङ युनाइटेड र डिआर एफसिले निर्धारित समयसम्म बराबर ३–३ गोल गरेपछि खेलको छिनोफानो टाइब्रेकरमा धकेलिएको थियो ।

यसैगरि, रिकभरिङ्ग भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोकले रिकभरिङ्ग ब्रदस सिक्किमलाई १–० गोलअन्तरले हराउदै फाइनलमा स्थान बनायो भने डिआर एफसि धरानले आश्रय काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गदैै फाइनल प्रवेश गरेको हो । 

प्रतियोगिताको फाइनल खेल असोज ५ गते शनिवार बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ १४ टिम, भेट्रान रिकभरिङ्ग तर्फ ७ टिम र महिला रिकभरिङ्ग तर्फ ३ टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फका विजेताले नगद दुई लाख र उपविजेताले नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। भेट्रानतर्फका विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरि, महिला तर्फका विजेताले नगद २० हजार र दोस्रोले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरि, शुक्रवार नै सम्पन्न भेट्रान रिकभरिङ्ग तर्फको तेस्रो उपाधिको लागि भएको खेलमा आश्रय काठमाण्डौले सिक्किम ब्रदस रिकभरिङ्गलाई १–० गोल अन्तरले हराउदै उपाधि चुमेको छ। उपाधिसंगै आश्रयले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। तेस्रो उपाधि विजेताहरुलाई शनिवार हुने फाइनल खेल पछि पुरस्कार प्रदान गरिनेछ।