धरान: पर्सि शनिबारदेखि २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । 

आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भइरहेको जनाएको छ । क्लबले बिहिबार बिहान धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ । ‘करिब करिब तयारी पुरा भइसक्यो । उद्घाटन खेलको लागि चर्चब्वाइज आएर अभ्यास गरिरहेको छ । भोली पुलिसको टिम आउदैछ’ अध्यक्ष प्रताप तामाङले भने,‘मैदानको तयारी पनि पुरा भइसकेको छ ।’

प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत रहने पनि आयोजकले जनाएको छ । उद्घाटन समारोहलाई भव्य बनाउन विद्यालयका छात्र, छात्राहरुद्धारा मार्च पास गराइनेछ भने ८० जना छात्राहरुद्धारा सामुहिक नृत्य पनि प्रस्तुत हुने अध्यक्ष तामाङले बताए । ‘२५ औं बुढासुब्बा गोल्डकपको अवसरमा ५ पाउण्डको केक् पनि काट्नेछौं,’उनले भने । प्रतियोगिताकै अवसरमा २०५५ को पहिलो सँस्करण धरानको टिमबाट खेल्ने खेलाडीहरुलाई सम्मान पनि गरिने उनले बताए ।

२ विदेशीसहित ८ टिम सहभागी

प्रतियोगितामा ८ टिम सहभागी हुदैछन् । प्रतियोगितामा चर्चब्वाइज युनाइटेट, एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं, केएफटिसी झापा, राजा क्लब इटहरी, युकेएफसि भारत, एरटिसिएफसि भुटान र आयोजक धरान फुटबल क्लब सहभागी हुने निश्चित भइसकेको छ । आयोजकले यसपाली एक साता अघि नै टाइसिट पनि सार्वजनिक गरिसकेको छ ।

busu4

क्लबका महासचिव नविन राईले प्रतियोगितामा सहभागी ८ वटै टिम वलियो र सशक्त भएको दाबी गरे । नेपालको टिमहरुमा अधिकांश ए डिभिजन लिग खेल्ने खेलाडीहरु रहेकोले सबै वलियो रहेको उनले बताए । ‘झापाको टिम भनिएपछि ए डिभिजन खेल्नेहरु छन् । भुटानको टिममा पनि राष्ट्रिय टिमका खेलाडीहरु छन्, त्यसैले ८ वटै टिमहरु एकदम वलियो र सशक्त छ,’ महासचिव राईले भने ।

प्रतियोगिताको २५ औं सँस्करणसम्म आइपुग्दा पनि आयोजक धरानले उपाधि जित्न सकेको छैन । यसपाली उपाधि जित्ने लक्ष्यसहित ३ विदेशी खेलाडी समावेश गरेर आयोजकले टिम तयारी गरेको पनि अध्यक्ष तामाङले बताए । उपाधि हालसम्म नजित्नुमा टिम कमजोर भएर नभै भाग्यले साथ नदिएको उनले बताए । ‘पाँच पटक फाइनल खेलेको टिम कमजोर होइन, भाग्यले साथ नदिएको भन्नुपर्छ,’ उनले भने,‘प्रशिक्षककै सुझावमा ३ जना विदेशी खेलाडी ल्याएका छौं, खेल रणनीतिबारे हाम्रो हस्तक्षेप हुदैन, प्रशिक्षकलाई नै जिम्मा दिएका छौं ।’

busu3

विगतमा धरानको खेलाडीहरु मात्र हुनुपर्ने आवाज उठेपछि गत सँस्करणमा स्थानीय खेलाडीहरुलाई मात्र प्राथमिकता दिएर टिम बनेको थियो । तर धरान सेमीफाइनलमा पराजित भएको थियो । यसपाली धरानको टिम प्रशिक्षकमा हेम गुरुङ र अर्जुन राई छन् । प्रशिक्षक गुरुङका अनुसार विगतमा धरानबाट ए डिभिजन क्लबमा खेल्ने ३० जना भन्दा बढी खेलाडीहरु हुँदा पनि उपाधि जित्न सकेको थिएन । अहिले ए डिभिजन खेल्ने धरानका खेलाडीहरु २, ३ जना मात्र छन् । ‘धरानको फुटबल क्वालिटी खस्किदै गएको छ । तर पनि हामी जित्ने लक्ष्य लिएर खेल्छौं । ३ जना विदेशी खेलाडी पनि ल्याएका छौं,’उनले भने । शनिबार प्रतियोगिताको उद्घाटन खेल चर्चब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल माघ २६ गते हुनेछ । 

पहिलो र दोस्रो नगद पुरस्कार दाताबाट उपलब्ध

busu goldcup4

प्रतियोगिताको लागि पहिलो र दोस्रो नगद पुरस्कारको लागि आयोजकलाई दाताहरु जुटेपछि सहज भएको छ । पहिलो पुरस्कार राशीको लागि धरान बहराइन एकता समाज र धरान समाज युकेले सहयोग गर्ने भएको छ । प्रथम पुरस्कार नगद १० लाख रहेको छ । 

यस्तै, दोस्रो पुरस्कार राशी नगद ५ लाख रुपैया हाल पोर्चुगल निवासी धरान १५ का अरुण राई एक्लैले सहयोग गर्ने भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने नगद १ लाख रुपैया पनि पोर्चुगल निवासी केन्द्र लिम्बुबाट सहयोग उपलब्ध हुने आयोजक क्लबका अध्यक्ष तामाङले जानकारी दिए । 

यसैगरि, प्रत्येक खेलको म्यान अफ दि म्याचको नगद पुरस्कार १५ हजार धरान १० स्थित माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले उपलब्ध गराउनेछ । उत्कृष्ट ७ जना खेलाडीहरुलाई केल्मीको ट्रेनर पनि प्रदान गरिने भएको छ । साथै केल्मीले यो सँस्करणदेखि जर्सीलगायत सम्पुर्ण खेलकुद सामग्रीहरु ५ बर्षको लागि धरान फुटबल क्लबलाई प्रायोजन गर्ने सम्झौता पनि भएको क्लबले जनाएको छ ।

अक्षयकोषलाई धरान हङकङ मञ्चबाट सहयोग आउने 

busu goldcup1

आयोजक क्लब र बुढासुब्बा गोल्डकपलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले विगतमा अक्षयकोष बनाउने घोषणा भएको थियो, र केही दाताहरुले सहयोग पनि गरेका थिए । तर, उक्त कोष स्थापना गर्ने अभियानले गति लिन सकेको थिएन ।

यो सँस्करणदेखि भने क्लबले पुनः उक्त कोषलाई अघि बढाउने निर्णय लिएको छ । अक्षय कोषलाई सशक्तढंगले अघि बढाउने र आर्थिकरुपमा सवल बनाउने निर्णय लिएर अभियान शुरुवात गरिसकेको महासचिव राईले बताए । यो अभियानलाई धरान हङकङ मञ्चले पनि पुर्णरुपमा सघाउने भएको छ । 

मञ्चका पुर्वअध्यक्ष विष्णु पाख्रिनले सधै चन्दा मागेको भरमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता र समस्याबाट मुक्त गर्न अक्षयकोष स्थापना उपयुक्त विकल्प भएको बताए । ‘बुढासुब्बा गोल्डकपभन्दा पछि शुरु भएको सहाराले धरान आएर सिकेर आफ्नै एकेडेमी चलाइसक्यो, आर्थिकरुपमा सशक्त पनि छ,’उनले भने,‘धरानलाई पनि अब वलियो बनाउनुपर्छ भन्ने लागेर अक्षयकोष बनाउने मञ्चले सहयोग गर्नेछौं ।’ उनले केही विधि बनाएर र क्लबसँग समझदारी गरेर अक्षयकोषको लागि रकम संकलन गर्ने पनि बताए ।

भिडियो: