धरान: मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं सँस्करणको शनिबार भव्य उद्घाटन भएको छ । 

धरान १६ स्थित रंगशालामा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको उद्घाटन गरेका थिए । २०५५ सालमा शुरुवात भएको बुढासुब्बा गोल्डकप कोरोनाकालमा बाहेक निरन्तर आयोजना हुदै आएको प्रतिष्ठित फुटबल प्रतियोगिता हो । 

busu1

रजत जयन्ती सँस्करणको उद्घाटनलाई भव्य बनाउन विभिन्न स्कुलका विद्यार्थीहरुले मार्चपास गरेका थिए भने हिमशिखर बोर्डिङ स्कुल तरहराका ८० जना विद्यार्थीहरु सामुहिक नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रमुख अनिथि एवं प्रदेश खेलकुद बोर्डका सदस्य सचिव बस्नेतले विश्वलाई जित्न सक्ने एकमात्र विधा खेलकुद भएकोले राज्यले लगानी बढाउनुपर्ने बताए । उनले खेलाडीहरु राष्ट्रको गहना नभै गौरवकोरुपमा स्थापित गर्न र संसारलाई जित्ने खेलाडी उत्पादन गर्न आफुहरु लागिरहेको बताए । 

busu9

‘संसारभरि नेपाली खेलकुदले, खेलाडीहरुले नेपालको नाम राखिरहेका छौं, त्यो सन्दर्भमा २५ औं बुढासुब्बा गोल्डकप गरिरहेका छौं,’उनले भने,‘आज हामी १० औं खेलकुदको संघारमा छौं, र त्यसलाई पनि सफल बनाउन प्रचारप्रसारमा यसले भुमिका खेल्ने विश्वास लिएको छुँ ।’ 

प्रदेश खेलकुद विकास बोर्डले १० करोड विनियोजन गरेर १० औं राष्ट्रिय खेलकुदलाई व्यवस्थितरुपमा सहभागिता गराउने थालनी गरेको पनि उनले बताए । आफु सधै खेलाडी र खेलकुदको हितमा काम गर्ने उल्लेख गर्दै बस्नेतले भने,‘सबैभन्दा पहिलो स्थानमा खेलाडीलाई राखेका छौं, त्यसपछि प्रशिक्षकलाई राखेको छौं । त्यसपछि खेलका संघहरुलाई र त्यसपछि मात्र सरोकारवाला सरकार हौं भनेर भन्नेगरेको छु ।’ उद्घाटन समारोहमा केही महिनाअघि दिवंगत भएका धरान फुटबल क्लबका सदस्य निर्मलदास गुरुंगप्रति श्रद्धाञ्जली मौनधारण पनि अर्पण गरिएको थियो । 

नेपाल पुलिसलाई हराउदै चर्चब्वाईज सेमीफाइनल प्रवेश

busu12

२५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई हराउदै एपि चर्च ब्वाईज युनाइटेड सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा भएको खेलमा चार पटकको विजेता पुलिसलाई १–० को झिनो गोलअन्तरले हराउदै चर्चब्वाईज सेमीफाइनल प्रवेश गरेको हो । चर्च ब्वाईज नेपालको ए डिभिजन लिग च्याम्पियन टोली हो । 

पहिलो हाफ गोलरहित बराबरीमा समापन भएको थियो भने खेलको एक मात्र निर्णायक गोल दोस्रो हाफको खेल शुरु भएको २ मिनेटमै भएको थियो । चर्चब्वाईजका सन्तोष खत्रीले खेलको निर्णायक गोल गरेका थिए । पदम भट्टराईले डिबक्सबाट दिएको पासमा एन्ड्रिउ एबो यामाहाले अवसर सृर्जना गरिदिएपछि सन्तोषले जाली चुमाएका थिए । 

भिडियो:

खेलमा चर्चब्वाइजले गोल गर्ने थुप्रै अवसरहरु खेर फालेको थियो । पुलिसले पनि पहिलो हाफको ८ औं मिनेटमा राम वजिको पासमा उज्वल राईले डिबक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो भने दोस्रो हाफको १९ औं मिनेटमा विकेक पाण्डेको प्रहारलाई चर्च ब्वाईजका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । 

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता चर्चब्वाईजका सन्तोष खत्री घोषित भए । उनले नगद १० हजार, ट्रफी र उपहार पाए । भोली आइतबार दोस्रो खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसिबीच हुनेछ ।

busu

busu3

busu2

busu4

busu6

busu8

busu5

busu7

busu10 1

busu13

busu14

busu15