धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १४ च्याम्पियन भएको छ ।
धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को झिनो गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । वडा नं १४ गोधुलीमा च्याम्पियन भएको यो दोस्रो पटक हो । यसअघि वडा नं १४ २१ औं सँस्करणमा पनि च्याम्पियन भएको थियो ।
पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा गोल गर्दै वडा १४ ले उपाधि चुमेको हो । वडा १४ का विवेक राईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भएको थियो । निक्कै प्रतिस्पर्धात्मक खेलमा वडा १५ ले पनि गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा दोस्रो पटक उपाधि चुम्ने सपना पुरा हुन सकेन ।

प्रतियोगितामा उपाधि ट्रफीसँगै वडा नं १४ ले नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता वडा १५ ले नगद ७५ हजार हात पार्यो । साथै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)का बुबाले विजेता र उपविजेता दुवै टिमलाई २५/२५ हजार थप नगद पुरस्कार दिएका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच वडा १४ का आशिष पुरी घोषित हुदै नगद ५ हजार ५ सय थापे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै वडा नं १४ का विवेक राईले नगद १५ हजार र ट्रफी हात पारे ।

यस्तै, प्रतियोगिताको बेष्ट गोलकिपर वडा १४ का राजु खड्का, बेष्ट डिफेन्डर वडा १५ का आशुतोष राई, बेष्ट मिडफिल्डर वडा १५ का एरिक गुरुङ, बेष्ट स्ट्राइकर वडा १४ का निमेष तामाङ घोषित भए भने बेष्ट कोच पनि वडा १४ का शिव राई भए । उनीहरु सबैले जनही नगद ५ हजार ५ सय र ट्रफी हात पारे ।
यसैगरि, प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका वडा १७ का कृष्ण राईले नगद ७ हजार ५ सय थापे भने राइजिङ प्लेयरको पुरस्कार वडा १७ का सुवास बिक घोषित हुदै नगद ५ हजार ५ सय पाए । फेयर प्ले टिम वडा नं १७ ले हात पार्यो ।

विजेता र उपविजेता टिमका खेलाडी, व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसी, प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्वमेयर तिलक राई, वडाअध्यक्षहरु कृष्ण भट्टराई, विवेक राई, गल्फ संघका अध्यक्ष एवं सर्वोत्कृष्ट खेलाडी पुरस्कारका प्रायोजक जितेन्द्र राईलगायतले पुरस्कार विरतण गरेका थिए ।
भिडियो:
पहिलो पटक रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना भएको गोधुलीको २५ औं सँस्करणको फाइनलमा १० हजार हराहारीमा दर्शकहरुले रंगशाला खचाखच भरिएको थियो । समापन समारोहलाई भव्य बनाउन चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुती पनि रहेको थियो । समापन समारोहमा पत्रकार शुक्रान्त राईसँगै प्रतियोगितामा योगदान पुर्याउने सुन्दर साउण्ड सिस्टमका प्रोपाइटर सुन्दर श्रेष्ठ, पाथीभारा टेण्ट हाउसका प्रोपाइटर सुनिल साहलगायतलाई पनि सम्मान तथा कदर पत्र प्रदान गरेको थियो ।


















