धरान: पुर्वमा माउण्टेन बाइकिङ गर्नेहरुको संख्या धरानमा धेरै छ । उनीहरु फन राइड मात्र गर्दैनन्, च्यारिटी राइड गरेर सामाजिक काम पनि गर्छन् । युवाहरु भने खेलकोरुपमा पनि साइक्लिङलाई अघि बढाइरहेका छन् । 

माउण्टेन बाइकिङलाई टेवा पुर्याउने उद्देश्य रोटरी क्लब अफ धरानले सन् २०२२ देखि प्याडल फर चाइल्ड एजुकेसन नारा दिएर च्यारिटी फन राइड रोटरी साइक्लोफन गर्दै आएको छ । गत बर्षदेखि भने राष्ट्रियस्तरको रोटरी साइक्लोक्रस एमटिबि रेस पनि शुरु गरेको थियो । उक्त च्यारिटी फन राइडको तेस्रो सँस्करण र एमटिबि रेसको दोस्रो सँस्करण यही चैत ३० गते शनिबार आयोजना हुने भएको छ । 

आयोजक रोटरी क्लब अफ धरानका अध्यक्ष विनयलाल श्रेष्ठका अनुसार च्यारिटी राइड मात्र नभै रेस पनि गरौं भन्ने सुझाव आएपछि गत बर्षदेखि प्रतियोगिता पनि शुरुवात गरिएको हो । उक्त प्रतियोगितामा भाग लिन नेपालका राष्ट्रियस्तरका खेलाडीहरुसँगै भारतबाट पनि सहभागी हुने उनले बताए । गत बर्ष पहिलो सँस्करणको रेसमा ६० जना सहभागी भएका थिए । ‘यो बर्ष पनि त्यति नै संख्यामा सहभागी होला भन्ने आशा गरेका छौं,’उनले भने । सहभागी खेलाडीहरुलाई दुर्घटना विमा पनि गरिएको छ भने सुनसरी बाहिरबाट आएका खेलाडीहरुलाई एक रातको आवास तथा खानाको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार फन राइड र एमटिबि रेस दुवै शनिबार बिहान भानुचोकबाट शुरुवात हुनेछ । साइक्लोफन ३.० को दुरी १० किलोमिटर रहेको छ भने साइक्लोक्रस २.० को दुरी १८ किलोमिटर रहेको छ । विभिन्न रुट हुदै धरान ६ पानवारीस्थित सरसस्वती माविमा पुगेर फन राइड र एमटिबि रेस समापन हुनेछ । ‘समापन त्यहाँ गर्नुको उद्देश्य हामीले त्यही स्कुललाई खेल पार्क बनाइदिदैछौं । शनिबार त्यही नै उद्घाटन र हस्तान्तरण पनि हुन्छ, र रेसको विजेताहरुलाई पुरस्कार पनि वितरण त्यही गछौं,’ अध्यक्ष श्रेष्ठले भने । 

रोटरीले गत बर्ष खोरिया बस्तीको आधारभुत विद्यालयमा खेलपार्क बनाइदिएको थियो । प्रत्येक बर्ष एक एक वटा बालबिकासमा खेलपार्क बनाइदिने उद्देश्यले च्यारिटी फन राइड भइरहेको पनि सचिव सरिता नेउपानेले बताइन् । उनले भनिन्,‘अहिलेसम्म ३ वटा स्कुलमा बनाइसकेका छौं, यो चौथो स्कुल हो ।’

साइक्लोक्रस २.० मा प्रथम हुनेले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार, ५ हजार, ३ हजार, २ हजार र एक हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक मुकेश तोदीले बताए । उनका अनुसार महिला फास्टर राइडर नगद ५ हजार पाउनेछिन् भने मास्टर ४० बर्ष माथिका फाष्टर राइडरले नगद ५ हजार पुरस्कार पाउनेछन् ।