धरान: धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सन्तोष राई लन्डन म्याराथुन २०२५ मा सहभागी हुदै गिनिज वर्ल्ड रेडर्क राख्न सफल भएका छन् ।
धरान घर भई हाल सपरिवार युके बस्दै आएका राईले लन्डन म्याराथुनमा नेपाली राष्ट्रिय पोशाकमा भाग लिएर गिनिज बुकमा नारा राख्न सफल भएका हुन् । राईले दौरा सुरुवाल लगाएर लन्डन म्याराथन पुरा गरेका थिए । उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पुरा गरेका थिए । उनी विश्वका ठुला म्याराथनहरुमा सहभागी भएर दौड पुरा गर्ने नेपाली धावकमा पनि पर्छन् ।
गिनिज वर्ल्ड रेकर्डको प्रयाससहित दौरा सुरुवाल लगाएर लन्डन म्याराथन पुरा गरेर नेपाललाई विश्वमा चिनाउने काम गरेकोमा उनले खुशी व्यक्त गरे । “हामी खेलमार्फत नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्याउन चाहन्छौँ,” उनले भने । यो अभियानमार्फत राईले जुम्लामा प्रस्तावित ‘हाई अल्टिच्युड ट्रेनिङ क्याम्प’ निर्माणका लागि लन्डन म्याराथन च्यारिटीमार्फत कोष संकलन गरिएको पनि जानकारी दिएका छन् ।
विश्वकै सर्बाधिक प्रतिष्ठित म्याराथन प्रतियोगिता मध्ये लन्डन म्याराथन एक हो । सन् १९८१ बाट यो दौड शुरु भएको हो । करिब ९ लाख आवेदकहरुमध्ये ५६ हजार भाग्यमानीहरुले मात्र सहभागी हुने अवसर पाएका थिए । प्रतियोगितामा करिब एक सय बेलायतमा बसोबास गर्ने नेपालीहरुले पनि भाग लिएका थिए ।
यसैबीच, धरान रनले गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएकोमा धरान रन समुहले गौरवान्वित भएको प्रतिक्रिया दिएको छ । 'नेपाली राष्ट्रीय पोशाक लगाएर प्रतियोगितामा भाग लिदै लन्डन म्याराथुन-२०२५मा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल हुनु भएकोमा हामी धरान रन समूह लगायत नेपाली समुदाय गौरन्बित भएकोमा हार्दिक बधाइ र शुभकामना दिन चाहन्छौ,' धरान रन समुहले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ, 'दौरा सुरुवाल जस्तो परम्परागत नेपाली पोशाकमा विश्वप्रसिद्ध म्याराथनमा दौडेर उनले नेपाली पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा फैलाएका छन्।बधाई तथा शुभकामना !'
रोग लाग्नु भन्दा रोग लाग्न नदिनु भन्दै राईले धरान रन समुह स्थापना गरेका थिए । उक्त समुहले प्रत्येक शनिबार धरान ८ स्थित यलम्बर सामुदायिक वनमा दौड हुने गरेको छ । साथै, हरेक बर्ष नेपालकै धेरै संख्यामा सहभागी हुने धरान १० के नेवा च्यारिटी रन पनि आयोजना गर्ने गरेको छ । उक्त दौड प्रतियोगिताबाट नाफा भएको रकम अक्षय कोषमा थपेर ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री तथा पोशाकहरु वितरण गरिदै आएको छ ।