धरान: धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसमा तीन दिने आर्किटेक्चरल एक्जिविसन २०७६ हुने भएको छ ।
प्रदेश १ का विद्यार्थी एवं अभिभावकहरुसमेतलाई आर्किटेक्चर बिषयबारे जानकारी गराउने र महत्व पनि बुझाउने उद्देश्यले क्याम्पसको आर्किटेक्चर विभागको २०७४ ब्याचका विद्यार्थीहरुले प्रर्दशनीको तयारी गरेका हुन् । क्याम्पस परिसरमा हुने प्रर्दशनी यही फागुन ४, ५ र ६ गते तीन दिन हुने आयोजक कमिटिका संयोजक विवेक मण्डलले जानकारी दिए । उनका अनुसार आर्किटेक्चर बिषयबारे नेपालमा उपत्यकामा मात्र सिमित मानिसहरुलाई थाह छ । उपत्यका बाहिर धरानमा मात्रै पढाई हुने भए पनि यो बिषयबारे विद्यार्थी तथा अभिभावकहरुलाई पनि राम्रो जानकारी छैन । ‘त्यसैले गर्दा आर्किटेक्चर बिषय के हो ? यसले के काम गर्छ ? यसको महत्व के छ ? भनेर बुझाउनको लागि यो कार्यक्रम गर्न लागेका हौं,’संयोजक मण्डलले भने ।
आर्किटेक्चर उपध्यका बाहिर धरानमा मात्र पढाई हुन्छ भने यो कार्यक्रम पनि पहिलो पटक उपत्यका बाहिर यहाँ हुन लागेको हो । आयोजक कमिटिका अनुसार क्याम्पस परिसरमा विभिन्न १५ वटा स्टल रहनेछ । ती स्टलमा प्रायोजकसँगै आर्किटेक्चरका विद्यार्थीहरुको प्रोजेक्टहरु प्रर्दशनीमा हुनेछ । ‘विभिन्न सेमेस्टरमा विद्यार्थीहरुले व्यक्तिगतरुपमा बनाएको प्रोजेक्ट र समुहगतरुपमा बनाएको प्राजेक्टहरु मध्येबाट उत्कृष्ट प्रोजेक्टहरु छनौट गरेर प्रर्दशनीमा राख्छौं,’प्रर्दशनीका बजार व्यवस्थापक सरोज दाहालले भने,‘स्केच र पेन्टिङहरु पनि हुन्छ ।’
एक्जिविसन मुख्य गरी कक्षा ९, १० र प्लस टु अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको हो । आर्किटेक्चर बिषय पढ्नलाई प्लस टु मा विज्ञान बिषय लिएर उतीर्ण गरेको हुनुपर्छ । एक्जिविसनमा धरानसहित सुनसरीका विभिन्न स्थान, मोरङ र झापाका विद्यालय, कलेजबाट पनि विद्यार्थीहरु अवलोकनको लागि सहभागि हुने संयोजक मण्डलले जानकारी दिए । ‘हामीले विद्यार्थीहरुलाई लक्षित कार्यक्रम गरेकोले विद्यालय, कलेजहरुमा सम्पर्क, समन्वय गरेका छौं । झापा अलिक टाढा भएकोले सुनसरी र मोरङबाट धेरै सहभागिता हुन्छ,’उनले भने,‘यो बिषय बढ्दा के फाइदा हुन्छ ? यसको महत्व के रहेछ भनेर विद्यार्थीहरुले बुझ्छन्, र पछि पढ्न सहज हुन्छ ।’
हिजो आज नयाँ घर बनाउदा मानिसहरुले राम्रो डिजाइन खोज्छन् । त्यो आर्किटेक्चरसँग सम्बन्धित हुन्छ । तर, मानिसहरुले यसप्रति वास्ता गरेका छैनन् । आर्किटेक्चरलाई पेन्ट वा चित्र बनाए जस्तो सोच्ने गरेको आर्किटेक्चर अध्ययनर विद्यार्थीहरुको गुनासो छ । अहिलेसम्म नेपालमा उपत्यकामा मात्र आर्किटेक्चर जनशक्ती उत्पादन भइरहेको छ । ती पनि अधिकांश राजधानी(उपत्यका)मा नै सिमित छन् भने अन्य विदेश गएका छन् । ‘नेपालमै भएकाहरु पनि काठमाण्डौंमा बस्छन्, अन्य ६ वटा प्रदेशमा त आर्किटेक्चरहरु शुन्य जस्तै छ,’संयोजक मण्डलले भने ।