धरान: प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई गोर्खा ब्लड हङकङले सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रम गरी गोर्खा ब्लडले १० हजार बराबरको १२ जोर जुत्ता र मोजा सहयोग प्रदान गरेको हो । धरान १८, शिवमार्गस्थित झुनाज फिटनेसमा गोर्खा ब्लडका सदस्य प्रभात राई र धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रविण राईले संयुक्त रूपमा उक्त सामग्री धरान रनका अध्यक्ष रमु राईलाई हस्तान्तरण गरेका थिए । गोर्खा ब्लड समुहको सदस्यहरूबाट रकम संकलन गरी उक्त सहयोग गरेको गोर्खा ब्लडकका सदस्य प्रभात राईले जानकारी दिए ।

सहयोग स्वरुप प्राप्त भएको जुत्ता फागुन १० गते हुने धरान रनको १२ र १६ वर्ष समुहको महिला र पुरूष विजेता खेलाडीहरूलाई पुरस्कार स्वरुप नगदसंगै वितरण गरिने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । वडा १८ का अध्यक्ष राईले सहयोगको लागि गोर्खा ब्लड हङकङलाई धन्यवाद ज्ञापन गरे । उनले धरान रनमा वडा १८ को बाल क्लबबाट पनि २० जना बालबालिकाहरु सहभागी गराउने अध्यक्ष राईले जानकारी दिए ।

सहयोग संस्था हङकङ निवासी नेपालीहरूले गठन गरेका हुन् । यो संस्थाले करीब ५ वर्ष देखि नेपाल र हङकङमा सकृय रूपमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यस समुहले विशेष गरी शिक्षा, स्वास्थ र हङकङमा हुने हरेक कार्यक्रमहरूमा स्वंयमसेवकको रूपमा सहयोग गर्दै आएको सदस्य राईले जानकारी दिए । उनका अनुसार हाल यस समुहमा ३० जना सकृय सदस्यहरू रहेका छन् ।