धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण आजदेखि शुरु हुदैछ ।

धरान १६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताको आज उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारत दार्जिलिङको यु.के.एफसिबीच हुनेछ । धरानका मेयर तिलक राईले गर्ने प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटनलाई संगीतमय पनि बनाइनेछ । उद्घाटन समारोहमा स्थानीय गायक मनोज मोते, रोहित मास्केको सांगीतिक प्रस्तुती हुने आयोजकको भनाई छ । हिमशिखर बोडिङ स्कुल तरहराका विद्यार्थीहरुले आकर्षक नृत्य पनि प्रस्तुत गर्नेछन् ।

stadium

प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछ । हालै लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेत्री नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक टिमको सहभागिता रहनेछ । यस्तै, विदेशी टिममा युके एफसि भारत र कलकत्ताको सन डे क्लब, एस.बि.सि.सि. सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ । यसैगरि, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।