धरान: कोशी अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको एक व्यक्तिको थ्रोट स्वाबको नमुना लिइएको छ ।
मोरङ रंगेलीका ती व्यक्तिको आज दिउँसो परीक्षणको लागि थ्रोट स्वाब लिइएको प्रतिष्ठानले जनाएको छ । उनलाई शुक्रबार कोशी अस्पतालले धरान रेफर गरेको थियो । उनलाई रेफर गरेपनि उनी प्रतिष्ठानमा भने भर्ना भएर बसेका छैनन् । ती व्यक्ति आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएका छन् । अहिले ती व्यक्तिलाई ज्वरो, रुघाखोकीलगायत अन्य कोरोनाको शंका हुने कुनै पनि लक्षण देखापरेको छैन । तर, उनी केही दिनअघि मात्र साउदी अरबबाट आएको र शुक्रबार कोशी अस्पतालमा जचाउन जादा सामान्य ज्वरो देखिएको थियो । त्यसैले उनलाई त्यहाँका चिकित्सकले धरान रेफर गरेको थियो ।
उनी शुक्रबार पनि घरमा नै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । मोरङका सिडिओ, सामाजिक विकास मन्त्रालयका सचिवलगायतले सम्झाउदा पनि उनी आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने अडान लिएर घर गए । तर, शनिबार अचानक उनी सार्वजनिक बस चढेर धरान आएपछि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका थिए । उनलाई कोरोना भए नभएको पुष्टि अब थ्रोट स्वाबको रिपोर्टबाट हुनेछ । उनको थ्रोट स्वाबको नमुना काठमाण्डौं पठाइने प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए । उनका अनुसार ती व्यक्तिलाई उपचारको आवश्यकता नभएकोले प्रतिष्ठानको आइसोलेनसमा नराखिएको हो । ‘उहाँलाई उपचारको खाँचो छैन, कुनै लक्षण पनि छैन । त्यसैले आइसोलेसनमा नराखिएको हो,’डा.साहले भने,‘क्वारेन्टाइनमा बस्दा हुन्छ । हामीसँग क्वारेन्टाइन नभएकोले उहाँ घरमै १४ दिनसम्म क्वारेन्टाइनमा बस्छु भनेर जानु भएको हो ।’
टेकुबाट आएका विरामी डिस्चार्ज
टेकु अस्पताल काठमाण्डौंबाट भागेर धरान आएका एक व्यक्ति वीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । उनको थ्रोट स्वाबको नमुना परीक्षणबाट रिपोर्ट नेगेटिम आएपछि उनलाई आज आइतबार प्रतिष्ठानले डिस्चार्ज दिएको हो ।
धरान १० का ती व्यक्ति कोरियाबाट आएपछि आफै उपचार गराउन टेकु अस्पताल पुगेका थिए । त्यहाँ उपचारको क्रममा उनी भागेर धरान आएपछि हल्लीखल्ली मच्चिएको थियो । धरानमा पनि उनलाई परिवारजनले वीपी प्रतिष्ठानमा उपचार गराउन लगेको थियो । आइसोलेसनमा रहेको बेला यहाँबाट पनि उनी भाग्ने प्रयास गरेका थिए । उनलाई पनि कोरोनाको कुनै लक्षण नदेखिए पनि उनी झण्डै २ सातासम्म आइसोलेसन वार्डमा बसेका थिए । त्यहाँ रहदा डाक्टरहरुले उनलाई मनोपरार्श गरेपछि उनी सामान्य अवस्थामा आइसकेका छन् ।