काठमाण्डौं: सरकारले राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनको एउटा बुँदामा अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको उल्लेख छ ।'देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ,' सम्बोधनको बुँदामा भनिएको छ ।

राजपत्रका अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल-नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा आवश्यक सेवा हुन् । राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख गरिएको छ र, यसमा हड्ताल गर्न रोक लगाइएको छ।

लामो दुरी र अन्र्तराष्ट्रिय हवाई उडान बन्द

सरकारले देशभरको लागि लामो दुरीका सार्वजनिक सवारीसाधन बन्द गर्ने घोषणा गरेको छ भने अन्र्तराष्ट्रिय हवाई उडान पनि बन्द गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै चैत १० देखि केही अवधिका लागि लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्मको लागि अन्र्तराष्ट्रिय हवाई उडान पनि बन्द गर्ने बताए । छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरी सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्थासहित आवागमनको व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताएका छन् ।