धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ ।

आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न तत्काल पहल गर्ने निर्णय गरेको हो । यस्तै, साना नाकाहरुमा आवतजावत कडाई गर्ने र तत्काल साना नाकाहरु बन्द गर्न पनि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । यसैगरी, प्रदेशस्तरमा नै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य गर्ने पनि निर्णय भएको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालको प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गर्ने पनि निर्णय गरेको छ ।

कोशी र वीपी प्रतिष्ठानको प्रयोगशाला स्तरोन्नती भएमा कोरोना आशंका गरिएको व्यक्तिको स्वाब परीक्षण प्रदेश १ मा नै हुनेछ । यस्तै, न्युनतम १० बेडको भेन्टिलेटरसहित ५० शैयाको अस्पताल पुर्वनेशनल ट्रडिङ लिमिटेडको भवनमा एक हप्ताभित्र स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ । यसको लागि सामाजिक विकास मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालयले समन्वय गर्ने, जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने र आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट लिने पनि बैठकले निर्णय गरेको छ ।

pradesh0

यसैगरि, भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुविधामा आउने भारतीय सवारी साधनहरु नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमार्फत अर्थमन्त्रालयमा अनुरोध गर्न सिफारिश गर्ने पनि निर्णय भएको छ । प्रदेश अन्र्तगतको यातायात व्यवस्था कार्यालयहरु तथा यातायात सेवा कार्यालयहरुबाट सम्पादन हुने सेवाहरु चैत मसान्तसम्म बन्द गर्ने, त्यसबेलासम्म लाग्ने थप जरिवानाहरु साविक वमोजिम लिने पनि निर्णय बैठकले गरेको छ । बढी मानिसहरु जमघट हुने मेला, हाटबजार तथा वनभोजहरुमा निषेधलाई निरन्तरता दिनेलगायत निर्णय बैठकले गरेको हो । साथै, समग्र अनुगमन दैनिक गर्न मुख्यमन्त्रीको अध्यक्षतामा २५ सदस्यीय अनुगमन समिति गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

pradesh