धरान: प्रदेश नम्बर १ को प्रमुख ५ वटा नाकाबाहेक सबै नाकाहरुबाट आवतजावत बन्द गर्ने निर्णय गरिएको छ ।

आज मुख्यमन्त्री शेरधन राईसहित बसेको प्रदेश सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भारतसँगको प्रमुख नाकाहरु जोगवनी, झापाको काकडभिट्टा र गौरीगञ्ज, इलामको पशुपतिनगर र सुनसरीको भन्टावारीबाहेक सबै साना ठुला नाकाहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । खुल्ला रहने ५ वटा नाकाबाट पनि कडा सुरक्षा व्यवस्था र स्वास्थ्य जाँच गरेर नेपालीहरुलाई मात्र प्रवेश दिइनेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं सुरक्षा समितिका सदस्य सचिव कमल थापाका अनुसार खुल्ला रहने ५ नाकाबाट पनि कडाईका साथ नेपालीहरुलाई मात्र प्रवेश दिइनेछ । ‘तेस्रो मुलुकबाट आउनेलाई पुर्णरुपमा प्रवेश निषेध हुनेछ, स्वास्थ्य छ भने पनि प्रवेश दिइदैन,’थापाले भने,‘भारतबाट आउने नेपालीहरुलाई पनि कडा स्वास्थ्य जाँच पछि मात्र प्रवेश दिइन्छ ।’

बैठकले सबै नाकाहरुमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । नाकामा पहिलो घेरामा सशस्त्र प्रहरी हुनेछ भने जनपद प्रहरी र नेपाली सेना पनि हुनेछ । यस्तै, शान्ति सुरक्षा तथा स्वास्थ्यलाई ध्यान दिदै प्रदेशमा अत्यावश्यक कामबाहेकका हाटबजार, हिडडुल, जमघट नगर्न पनि आह्वान गर्ने निर्णय गरेको उपसचिव थापाले बताए ।