धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९) संक्रमित पुष्टि भएकी युवतीसँगै कतारबाट आएको भनिएका एक युवालाई होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाए पनि उनी घरमा भने क्वारेन्टाइनमा नबसेको खुलेको छ ।

धरान १६ स्वामी चोकका ती युवा आज बिहान पनि चुरोट किन्न पसल पुगेको उनका एक छिमेकीले बताए । नाम नखुलाउन आग्रह गर्दै उनले भने,‘उनलाई तुरुन्त अस्पतालमा लैजानुपर्छ । एकदमै हेलचेक्र्याई भइरहेको छ । होम क्वारेन्टाइनमा बस्न भनेर पठाए पनि बाहिर डुलिरहेको छ ।’ ती युवालाई आज बिहान पनि चुरोट किन्न पसलमा गएको देखिएको छिमेकीहरुले बताएका छन् । क्वारेन्टाइनमा रहदा १४ दिनसम्म बाहिर खुलारुपमा निस्कन पाइदैन । उनी होम क्वारेन्टाइनमा बस्न पठाए पनि नबसेको भन्ने थाह पाएपछि स्थानीयबासीहरु त्रसित छन् । 

नेपालमा फ्रान्सबाट कतार हुदै आएकी १९ बर्षीय युवतीलाई कोरोना भएको पुष्टि भइसकेको छ । ती युवतीसँगै एउटै हवाईजहाजमा आएकालाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाइएको थियो । तर, उनीहरु क्वारेन्टाइनमा भए नभएको अनुगमन नहुदा त्रसित हुनुपर्ने अवस्था आएको ती छिमेकीले बताए । ‘हामीले वीपीको र्यापिड टिमलाई बिहानै खबर गरेको हो, अहिलेसम्म लिएर गएको छैन,’ती छिमेकीले भने,‘यत्रो लापरवाही किन भइरहेकोछ ?’

धरानका मेयर तिलक राईले कतारबाट एउटै प्लाइटमा २ जना आएको जानकारी आएपछि उनीहरुलाई अस्पताल लैजाने तयारी गरिएको बताए । वडा नं ६ मा एम्बुलेन्स पठाएर वीपी प्रतिष्ठान ल्याउने तयारी भइरहेको उनले बताए । ‘पानवारामा मान्छे लिन एम्बुलेन्स पठाइसकेका छौं, वडा नं १६ को पनि लिनको लागि वीपीसँग समन्वय भइरहेको छ,’मेयर राईले भने ।