धरान : याक्थुङ समुदायको भाषा, लिपी, इतिहास, सँस्कृति, परम्परा, मुन्धुम, कला, साहित्य, संस्कार संर्वद्धन र पुस्तान्तरण गर्ने उद्देश्यले याक्थुङ लिम्बू हेरिटेज अर्काइभ्स (याक्थुङ लिम्बू सम्पदा अभिलेखालय वेभसाइट शुभारम्भ गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति एवं वरिष्ठ साहित्यकार तिलबिक्रम नेम्बाङ ‘बैरागी काइला’द्धारा मंसिर २ गते उक्त वेभसाइटको शुभारम्त गरिएको अर्काइभ्सकी अध्यक्ष माल्भिका सुब्बाले जानकारी दिएकी छिन् । याक्थुङ लिम्बूको ऐतिहासिक तथा साँस्कृतिक महत्वका अभिलेखात्मक सामग्रीहरु मानवीय ज्ञान सम्पदाहरुको अभिलेखात्मक पुस्तकहरु प्रकाशनमा आएपनि सबैको पहुँचमा नपुगेको कारणले पनि अर्काइभ्सको शुरुवात गरिएको उनको भनाई छ । 

‘अभिलेखात्मक सम्पदा एवं महत्वपुर्ण कागजात तथा पुस्तकहरु संकलन गरि सुरक्षित तरिकाले राख्ने, अनुसन्धानकर्ताहरुलाई अध्ययन अनुसन्धानको सुविधा उपलब्ध गराउने, तिनका प्रतिलिपि अधिकार प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो,’ अध्यक्ष सुब्बाद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘आधुनिक सुचना प्रविधिको उपयोग गर्दै डिजिटल माध्यमबाट विश्वभर रहेका याक्थुङ समुदाय तथा अन्य इच्छुक अनुसन्धानकर्ता, विद्यार्थी, अध्येता र आमपाठकसमक्ष सहज पहुँच पुर्याउने लक्ष्य लिएको छ ।’

yakthung1

अभिलेखात्मक सामग्रीहरु निरोधात्मक र उपचारात्मक विधि अपनाई विभिन्न व्यक्तिहरुबाट संकलन गरिएको पुस्तकहरु प्राथमिकताका आधारमा सम्झौता गरि भण्डारण गरिएको अर्काइभ्सले जनाएको छ । बिशेष गरि याक्थुङ लिम्बू र लिम्बूवान सम्बन्धि हालसम्म पुस्तककारुपमा प्रकाशन भएकाहरुलाई सम्बन्धित लेखक तथा प्रकाशकसँग समन्व्य तथा सम्झौता गरी अर्काइभ्समा भण्डारण गरिएको पनि अध्यक्ष सुब्बाले जानकारी दिएकी छिन् । 

‘भण्डार गरिएका केही सामग्री निःशुल्क उपलब्ध छन् । केही पुस्तक तथा सामग्रीहरु बिक्रीमा राखिएका छन्,’ विज्ञप्तीमा भनिएको छ,‘बिक्री भएका पुस्तकको ७० प्रतिशत रकम लेखक तथा अनुसन्धानकर्ताहरुलाई प्रदान गरिनेछ । उनीहरुको सिर्जना र श्रमको उचित मुल्य पुगोस् भन्ने हाम्रो चाहना हो ।’