धरान : राष्ट्रिय महिला खेलाडीहरुले भरिएको विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच आज अर्न्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा उपाधि भिडन्त हुदैछ । 

धरान १६ स्थित रंगशालामा साँझ ७ बजे खेल शुरु हुदैगर्दा एपिएफको लक्ष्य हुनेछ, जारी सिजनमा दोस्रो उपाधि उचाल्ने । पुलिसको लक्ष्य भने जारी सिजनमा सिमरामा भागेको पराजय र गत सिजन झापाको फाइनलमा भोगेको पराजयको वदला लिने हुनेछ । यो सिजनमा सिमरामा एपिएफसँग पुलिस २-१ ले पराजित भएको थियो भने गत बर्ष झापामा भएको फाइनलमा पनि पुलिस १-० ले पराजित भएको थियो ।

उत्कृष्ट लयमा रहेको एपिएफलाई रोकेर उपाधी उचाल्नु पुलिसको लागि चुनौती छ । एपिएफसँग १३ जना राष्ट्रिय टिमका खेलाडीहरु छन् । पुलिससँग ६ जना राष्ट्रिय टिमका महिला खेलाडीहरु आवद्ध छ । एपिएफकी कप्तान अनिता बस्नेत सेमीफाइनल खेलमा घाइते भएकोले आजको फाइनलमा मैदानमा देखिने छैनन् । उनको स्थानमा रेणुका नगरकोटीले टिमको नेतृत्व सम्हाल्नेछन् । अनिताको अनुपस्थिति पुलिसको लागि लाभ पुग्नसक्छ तर फुटबलको मैदानमा दुवै टोली चिरप्रतिद्धन्दी टिम हुन् । त्यसैले पनि आज साँझ हुने फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ । 

final1

एपिएफका टिमकोच जेम्स कुमार पाण्डे भने सबै खेलाडीहरुमा आत्मविश्वास उच्च भएको र तयारी पनि राम्रो भएकोले परिणाम सकरात्मक आउने बताउछन् । ‘फाइनल पुगेका छौं, सबै खेलाडीको आत्मविश्वास उच्च छ । हामी रणनीतिक, मानसिक र शारीरिकरुपमा पनि तयार छौ,’ उनले भने । 

क्याप्टेन रेणुका नगरकोटीले पनि आफुहरु जित्नकै लागि खेल्ने बताइन् । टिमको प्रमुख खेलाडी क्याप्टेन अनिता बस्नेत घाइते भएर नखेलेपनि अन्य खेलाडीहरुले अभाव महशुस हुन नदिने बताइन् । 

पुलिसका कोच भरत सिलवालले चिरप्ररिचित प्रतिद्धन्दी विरुद्ध रणनीति अनुसार नै फाइनल खेल्ने बताए । ‘विपक्षीको हरेक पक्ष राम्रो छ, तर त्यसलाई पनि चिर्ने गरि खेल्नुपर्छ । दर्शकलाई फाइनल खेल हेर्न साँच्चै मज्जा हुनेछ,’ उनले भने । क्याप्टेन अमृता जैसीले पनि फाइनलको लागि तयारी राम्रो रहेको तर परिणाम ९० मिनेटको खेल सकिदा मात्रै थाह हुने बताइन् । 

final

डि१९ क्लब र स्वर्णिम क्लबले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाखसहित ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ३ लाख रुपैया पाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर पाउदा व्यक्तिगत उत्कृष्ट विधातर्फका खेलाडी, कोचले जनही नगद १५ हजार पाउनेछन् । वुमन अफ दि म्याचले नगद १० हजार पाउनेछन् । धरानमा पहिलो पटक आयोजित रात्रीकालिन महिला गोल्डकपमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबसहित कुल ८ टिम सहभागी भएको थियो ।