विराटनगर: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमित देशबाट आएका प्रदेशका नागरिकहरुलाई घरकै क्वारेन्टाइनमा बसेर आफु, आफ्नो परिवार र समुदायलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अपिल गरेका छन् ।

बिहिबार साँझ भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रदेशका आम नागरिकहरुलाई यस्तो आग्रह गरेका हुन् । लकडाउनको कारण जनजीवन केही असहजता उत्पन्न भएको हुनसक्ने भएपनि भाइरससँग जुध्ने विकल्प नभएकोले धैर्य गर्न पनि उनले प्रदेशबासीसँग अपिल गरेका छन् । मुख्यमन्त्री राईले घरको क्वारेन्टाइनमा बस्दा भाइरसको कुनै शंका वा लक्षण देखिए तुरुन्त सम्बन्धित निकायमा खबर गरेर आफु, परिवार र समदायलाई संक्रमणबाट बचाउन पनि अपिल गरेका छन् । 

‘यो महामारीसँग जुध्न हामीसँग यसको विकल्प पनि छैन, त्यसैले केही समयको लागि धैर्य भएर आफ्ना दैनिकी परिवर्तन गर्न म हार्दिक अपिल गर्दछुँ,’मुख्यमन्त्री राईले सन्देशमा भनेका छन्,‘कोरोना संक्रमित देशहरुबाट नेपाल आउनुभएका दाजुभाई दिदीबहिनीहरुलाई मेरो बिशेष आग्रह छ, कृपया घरकै क्वारेन्टाइनमा बसिदिनुस् ।’ उनले ५१ ठाउँमा १३३१ बेडको क्वारेन्टाइन बनाएको पनि जानकारी दिएका छन् भने भोलीदेखि धरानमा कोरोनाको परीक्षण पनि हुने बताएका छन् ।