धरान: तोकिएको मुल्यभन्दा महंगोमा तरकारी बिक्री गर्ने धरानका एक व्यापारीको पास खारेज गरिएको छ ।

धरान ९ का व्यापारी हरेराम चौधरीको वडा कार्यालयले दिएको तरकारी बिक्रीको पास खारेज गरिएको हो । उनले वडा ९ मा तरकारी बिक्री गर्ने पास लिएपनि वडा नं १६ मा बिक्री गर्दै गरेको अनुगमन समितिले फेला पारेको थियो । यस्तै, कृषि बजारले जारी गरेको थोक मुल्यभन्दा बढी मुल्यमा तरकारी बिक्री गर्दै गरेको भेटिए पछि अनुगमन समितिले उनको गाडी पनि नियन्त्रणमा लिएको थियो ।

pass

आज बिहान कृषि बजारमा सहसंयोजक एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेको अध्यक्षतामा बसेको बैठकले कारबाही स्वरुप व्यापारी चौधरीको पास खारेज गर्ने निर्णय गरेको हो । व्यापारी चौधरीले लकडाउन अवधिभर अब तरकारी बिक्री गर्न नपाउने गरि कारबाही गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । उनले भने,‘वडा ९ मा तरकारी बिक्री गर्ने भनेर पास लिएको हो,तर उनले गाडीमा १६ नम्बर वडामा महंगोमा तरकारी बेच्दै गरेको भेटिएको थियो । त्यसैले लकडाउनभरि उनले तरकारी बेच्न नपाउने गरि पास खारेज गरिएको छ ।’