धनकुटाः हरेक वर्ष करोड बढि आम्दानी गर्ने सिधुवाको छुर्पी उद्योग संकटमा परेको छ ।

काशिनाथ निरौलाले संचालन गरेको माउण्ट मकालुु दुुग्ध परिकार उद्योगको मुुख्य उत्पादन छुर्पि हो भने घिउ पनि उत्पादन हुँदै आएको छ । किसानको घर नजिकै स्थापित उद्योगमा दैनिक ८ हजार लिटरसम्म दुुध खपत गर्ने गथ्र्यो । तर, अहिले लकडाउनका कारण ६ सय लिटर मात्र दुुध लिएर मुश्किलले उद्योग धानिरहेको निरौला बताउँछन् । ‘अहिले मसँग १ करोड ३० लाखको छुर्पी र २२ सय किलो घिउ स्टक छ,’उनले भने,‘छुर्पी त केहि समय टिक्ला घिउ भने बिग्रिन लागिसक्यो, यस्तै अवस्था रहिरहे म त सडकमै आउने भएँ ।’

उनीसँगै यस भेगका सयौँ किसान आश्रित छन् । ती किसानका भरोसा निरौला हुन् । लकडाउनको बेला पनि किसानको दुध लिइरहेका उनले पैसा दिन सकेका छैनन् । यता किसानले पैसा नपाउँदा गाईलाई खुवाउने दान किन्न पाइरहेका छैनन् । जसको प्रत्यक्ष असर दुुध उत्पादनमा परिरहेको छ । उद्योगमा उत्पादन भएको छुर्पी र घिउ बेच्ने मुख्य बजार क्षेत्र युरोप,अमेरिका हो । अहिलेको महामारीमा तेस्रो देश पठाउन असम्भव छ । स्वदेशमै विक्री हुने कतिपय सहकारी र डेरीले उनको घिउ लिएका छैनन् ।

chhurpi1

सामान्य अवस्थामा नेपाल डेरी, सुजल डेरी र पुुष्पा डेरीले यहाँको उत्पादन किन्ने गरेका थिए । पोखराको सुजल डेरीले एकै दिन ३ सय ५० केजीसम्म घिउ लाने गरेको निरौलाले जानकारी दिए । तर, असामान्य परिस्थितिको सृजना भएपछि यी सबै डेरीले यहाँको सामान उठाएका छैनन् । ‘बिक्री होला भन्ने आशमा धमाधम उत्पादन भएको सामान गोदाममा भरिएको छ,’निरौला भन्छन्,‘कहिले बिक्ला र किसानको पैसा तिर्नु, म त अताल्लिइसकेँ ।’

उनको बिक्री गर्ने हिले र काठमाण्डौमा आफ्नै पसल छन् । यो लगायत फाट्फुुट्ट होलसेल पसलबाट समेत माग आउने गथ्र्यो । कुनै बेला माग पुरा गर्न नसक्ने उनको उद्योगमा यत्तिको संकट पहिलो पटक आएको हो । बजारीकरणका लागि सरकारसँग गुहार मागिरहेका उनको आश छ, कतै सरकारले लागत मुल्यमै खरीद गरिदिए कृषि उद्योग चलाएका व्यवसायीको विजोग हुने थिएन की ! ‘पुरा क्षमतामा सँचालन गर्दा ४ करोडसम्म मुनाफा गर्न सकिन्थ्यो, तर अनुुदानको प्याकेज नपाउँदा भरपर्दो चिस्यान केन्द्र बनाउन पाइएन,’उनले भने,‘लकडाउनपछि अमेरिकाले सहज सामान लगिदिए हाम्रो व्यवसाय फर्किन्छ, सामान लगिदिएन भने हाम्रो व्यवसाय धरापमा पर्छ ।’

chhurpi2