इटहरीः हरेक विहान उनीहरुको आवाजले शहरमा ब्यूँझिने धेरै छन् । सडकमा गाडीको कर्कक ध्वनी छैन । मानिसको चहलपहल शुुन्य झैँ छ ।
डेढ महिना देखिको शुन्यता अझै कहिलेसम्मको हो, थाहा छैन । शहरमा चौक गल्ली चुपचाप देखिन्छन् । ‘तरकारी लिने हो दिदी ऽऽऽ ?’ लामो लेघ्रो तानेर आउने यो आवाजले धेरै गृहणीलाई झस्काउँछ । झट्ट भान्सामा पस्छन् र आफुुलाई आवश्यक रहेको तरकारी किन्न निस्किहाल्छन् ।

चैत १० गतेसम्म सबैको दैनिकी सामान्य थियो । तर कोरोना कहरले विश्व आक्रान्त भइरहँदा नेपाल समेत अछुुतो रहन सकेन । नेपाल सरकारले चैत ११ गते देखि नेपाल लकडाउनको घोषणा गर्यो । अनि, सबैको सामान्य दैनिकीमा पुुर्ण विराम लाग्यो । मानिसहरु घरमै बन्दी झैँ भए । सार्वजनिक स्थानमा जान बन्देज लगाइएपछि घरमा चाहिने अतिआवश्यकीय सामान खरीद गर्न पाइएन । तर, भान्सा चलेकै थियो । तरकारीको आवश्यता छँदै थियो । कसरी तरकारी ल्याउने भन्ने दोधारमा परेका गृहणीलाई चौधरी दिदी बहिनिले सजिलो बनाइदिए ।

लकडाउनको ४७ औँ दिनसम्म आइपुुग्दा गीता र पाना चौधरी टाउकोमा ढाकी राखेर घरघर डुुलिरहेका छन् । अहिले उनिहरु यतिसम्म परिचित छन् कि उधारोमा तरकारी दिन्छन् । ग्राहकको रोजाइका तरकारी भोलिपल्ट ल्याइदिन्छन् । इटहरीदेखि छोटो दुरीमा रहेको भुर्कीमा घर भएकी गीता हरेक दिन ३ किलोमिटर हिँडेरै बजार आइपुग्छिन् । उनीसँगै छिमेकी पाना चौधरीसमेत हुन्छिन् । दुुबैले मिलाएर तरकारी ल्याउँछन् । ६ सदस्य परिवार रहेको गीताका अधिकाँश परिवारका सदस्य निर्माण सम्बिन्धि काममा व्यस्त हुन्थे । तर, अहिले निर्माण ठप्पै छ । उनीहरुले आफ्नै वारीमा तरकारी लगाएका छन् । हटियामा लगेर बेच्न बानी भएका उनीहरु अहिले घरघर डुुलेर बेच्ने गरेका छन् । ‘शुरुका चार दिन त डरले कतै निस्किएनौँ,’गीताले भनिन्,‘अहिले भने विहान २ घण्टाको कमाइ रामै्र हुने गरेको छ, सबैले हामीलाई नै कुरीरहेका हुन्छन् ।’

गीताले आफ्नै वारीमा फर्सी रोपेकी छिन् । उनले प्रायः मुन्टा लिएर आउँछिन् । दैनिक ६० मुुठासम्म मुुन्टा बेच्ने उनले आम्दानी रामम्रो भएको सुनाइन् । तीन विगाहा जमिन भएकी गीता विहान तरकारी बेच्न निस्किए पनि दिनभर बारीमै रमाउँछिन् । सिजन अनुसारका तरकारी लगाउने उनले अहिले रायोको साग, फर्सी र अन्य केही सिजनल तरकारी लगाएकी छिन् । ‘अरुले बारीमा तरकारी कुहियो भन्छन्, मलाई बेच्न भ्याइनभ्याइ छ,’ उनेल भनिन् ।
पाना चौधरीको भने ५ जनाको परिवार छ । छोरा, वुुहारी र छोरी काम गर्थे भने बुुढा सफारी चलाउँथे । अहिले उनीहरु फुर्सदमा छन् । पाना भने व्यस्त छिन् । विहान तरकारी बेच्ने र दिउँसो वारीमा उनको ब्यतता बढेको छ । ‘पहिले अरुको कमाईले घर चल्थ्यो, अहिले म साग बेचेर नुन–तेल किन्छु । दालचामल त घरमै छ,’पानाले भनिन् ।

लकडाउनको बेला गीता र पानाले पैसा मात्र कमाएका छैनन् । त्यो भन्दा धेरै खुसी घरघर पुुग्दा गृहणीले दिने धन्यवाद छ । बजारमा भाउ मोलेर तरकारी किन्ने ग्राहकले घरमै पुुर्याउँदा खुसीले भनेकै मोलमा सामान लिने गरेको उनीहरुको अनुुभव छ । ‘घरबाट कोही निस्केका छैनन्, हटिया नलाग्दा समस्यामा परिरहेकालाई घरमै तरकारी पुुर्याउँदा को खुसी नहोस्,’गीताले हाँस्दै पानाको टाउकोमा बेच्न आधा रहेको तरकारीको ढाकी राखिदिइन् र आफ्नो बाटो लागिन् ।