धरान: धनकुटा जिल्ला अस्पतालकी संक्रमित नर्सले रिफर गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा भर्ना भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ ।
हिजो सोमबार राती करिब साढे ११ बजे ती महिलाको पिसिआर परीक्षणको रिपोर्ट आएको प्रसुती विभाग प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएपछि मध्यराती १२ बजेदेखि नै गाइनो वार्डको सेवा सुचारु भइसकेको पनि डा.रेग्मीले जानकारी दिए । ‘राती साढे ११ बजे रिपोर्ट नेगेटिभ भनेर आयो, त्यसैले १२ बजेदेखि नै सेवा सुचारु गर्यौं,’डा.रेग्मीले भने,‘कथंकदाचित पोजेटिभ रिपोर्ट आउदा सर्तक रहनुपर्छ भनेर सिल गरिएको थियो ।’
आइतबार जिल्ला अस्पताल धनकुटाकी नर्स संक्रमित भएको पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनले स्वास्थ्य जाँच गरेको एक सुत्केरी महिलालाई वीपी रिफर भएको खुलेको थियो । गाइनो वार्डमा रहेकी ती महिलालाई आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो भने हिजो वीपी प्रतिष्ठानको गाइनो वार्डलाई सिल गरिएको थियो । प्रतिष्ठानले रिपोर्ट नआएसम्म गाइनोमा विरामी भर्ना नलिने र डिस्चार्ज पनि नगर्ने निर्णय लिएको थियो । 'पुर्ववत अवस्थामा नै सेवा सुचारु भइसकेको छ,'विभागीय प्रमुख डा.रेग्मीले भने ।