धरान: चार दिनदेखि घरको धारामा पानी नआएपछि धरान उपमहानगरपालिका वडा नं ९ का बासिन्दाहरुले खानेपानी संस्थान घेराउ गर्न पुगेका छन् ।

बर्षाको समयमा पनि धारामा पानी नआए पछि आक्रोशित वडाबासीहरुले संस्थानको कार्यालयमा तालाबन्दी गर्ने भन्दै पुगेका छन् । पुर्नजागरण टोल विकास संस्थाको उपाअध्यक्षसमेत रहेका विकास भाटीका अनुसार हिजो पनि वडाबासीहरु वडाअध्यक्ष रत्नबहादुर कटवालसँगै संस्थान पुगेका थिए । तर, कोही पनि भेटिएनन् । ‘आज बिहानै ६ बजे आएका थियौं, संस्थानको हाकिमसँगै भेट भयो । उहाँले नै सोढ ७ बजेदेखि पानी मजाले आउछ भनेपछि फर्कियौं,’भाटीले भने,‘तर ९ बजेसम्म पनि पानी नआएपछि फेरि संस्थान आएका छौं । पानी पठाएन भने तालाबन्दी गछौं ।’

वडा नं ९ मा खानेपानी संस्थान परिसरको सिस्टमबाट नै पानी वितरण हुने गर्छ । त्यसक्षेत्रमा खानेपानी परियोजनाको नयाँ सिस्टम नजोडिएको र संस्थानको पुरानो सिस्टमलाई नै आयोजनाले सुम्निमा सिस्टममा रुपान्तरण गरेको छ । यसअघि पनि संस्थानले पानी खुवाउन नसकेपछि वडाअध्यक्षसहित वडा नं ९ का जनप्रतिनिधिहरुले खानेपानी संस्थानमा धर्ना नै दिएका थिए । ‘हामीले गत पुष अन्तिम साता पनि एक साता धर्ना गर्यौं । चरम अभाव भयो । सबैतिर पानी आउदा हाम्रो वडामा थिएन, र आन्दोलनमा उत्रियौं,’वडाअध्यक्ष कटवालले भने,‘त्यसपछि केही सहज भएको थियो ।’ अहिले फेरि आफ्नो वडामा पानी आउन छोडेको उनले बताए ।