धरान: धरान उपमहानगरपालिका मेयर तिलक राईले एसियाली विकास बैंक(एडिबि)को सहयोगमा आएको खानेपानी आयोजनाको कमीकमजोरी भए जनतालाई स्पष्ट भनेर पानी विरतण गर्ने धारणा व्यक्त गरेका छन् ।

आयोजनाको नयाँ वेल र खानेपानी संस्थानको टंकी निरीक्षणको क्रममा मेयर राईले सञ्चारकर्मीसँग यस्तो धारणा राखेका हुन् । संस्थान हस्तान्तरण भएपछि कति पानी उत्पान र वितरण गर्न सकिन्छ भन्ने प्रष्ट हुने उल्लेख गर्दै मेयर राईले त्यसपछि आयोजनाको कमीकमजोरी देखिए प्रष्ट नगरबासीलाई भन्ने पनि बताए । ‘आयोजनाको कमीकमजोरी छ भने यो यो कमीकमजोरी छ भनेर जाने हो । जति उत्पादन भएको छ, जनतालाई भनेर जाने हो । यो यो कमजोरी छ, यो यो ठिक छ । उत्पादन यति भयो, यति दिन सक्छौं भनेर जाने हो,’मेयर राईले भने,‘ जे भयो भयो, आयोजना आइहाल्यो । आयोजनामा अबौं पैसा लगानी गरिसक्यौं । यो उत्पादन भएको पानीलाई र संस्थानको पानीलाई व्यवस्थापन गरेर बाँड्नुको विकल्प छैन ।’

water-dharan1

मेयर राईले खानेपानीको घरधुरी संख्या बढ्दै गएपछि खानेपानी समस्या बढ्दै गएको उल्लेख गर्दै खानेपानी उत्पादन र वितरणको क्षमता बढाउनकै लागि हारगुहार गरेपछि एडिबिको ऋण तथा अनुदानमा आयोजना आएको पनि बताए । आयोजनाको डिपिआर नै संस्थनको ६२ लाख र आयोजनाको ९० लाख गरि १ करोड ५२ लाख लिटर उत्पादनको भएको मेयर राईको भनाई छ । डिपिआर अनुसारको ९० लाख लिटर उत्पादन नभएको भए समस्या हुनसक्ने उनले बताए ।

‘अर्को कुरा संस्थानको उत्पादन कति हो भन्ने यकिन हुन सकेको छैन । हिजोकै संरचना छ, त्यसमा नाप्ने मिटर पनि छैन । उहाँहरुले भनेजति उत्पादन छ, कि कम छ कि बेसी छ भन्ने यकिन नहुदा समस्या छ,’मेयर राईले भने,‘अर्को समस्या, यो आयोजनाको मोडल भनेको संस्थानसमेत मर्ज गरेर डिपिआर बनेको छ । अहिले संस्थान हस्तान्तरण भइरहेको छैन । त्यसले गर्दा एकीकृतरुपमा कर्मचारीको व्यवस्थापन र उत्पादन भएको पानी वितरण गर्न सकिरहेको छैन । म पर्खिरहेको छुँ, खानेपानी संस्थानको जिएमलाई पटक पटक भनेको छुँ, परिपत्र गरेर हस्तान्तरण गर भनेको छुँ ।’

आयोजनाबाट उत्पादन भएको पानी र संस्थानको पानीलाई व्यवस्थापन गरेर बाँड्नुको विकल्प नभएको मेयर राईको भनाई छ । दुवै पानीलाई एकीकृतरुपमा व्यवस्थापन गर्न सकिएमा केही हदसम्म धरानको खानेपानीको व्यवस्थापन हुने उनले विश्वास व्यक्त गरे । यस्तै, उनले दीर्घकालिनरुपमा खानेपानी समाधान गर्नको लागि २ वटा वेल थप भएको उल्लेख गर्दै संस्थानको रिजर्ब टंकीको पनि क्षमता बढाउने बताए । यसको लागि संस्थान परिसरमा रहेको खाली जग्गामा करिब ३० लाख लिटर क्षमताको रिजर्ब वेयर बढाउने योजना रहेको उनले बताए । ‘यो ठाउँमा यतिकै क्षमताको टंकी बनाउन सकियो भने स्टक गरेर वितरण गर्न सकिन्छ । यो आयोजना कार्यान्वयन सँगसँगै धरान उपमहानगरपालिका र खानेपानी बोर्डको आगामी लक्ष्य भनेको रिजर्ब वेयर टंकी बनाएर खानेपानीको व्यवस्थापन गर्नुपर्छ भनेर लागिपरेका छौं,’उनले भने ।

३ करोड लिटर पानी आवश्यक

water-dharan

खानेपानी संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठका अनुसार अहिले आयोजनाले उत्पादन गरेको पानी दिएकोले वितरणमा धेरै सहज भएको छ । ‘हामीले दैनिक १२ देखि १५ लाख लिटर मागेका थियौं, १२, १३ लाख लिटर दिइरहनु भएको छ । यसले धेरै सहज भएको छ,’श्रेष्ठले भने,‘धरानमा १८ हजार गा्राहक संख्या संस्थानको र आयोजनाको १० हजार संख्या भयो । २८ हजार धारा भयो । प्रतिघरलाई हजार लिटर पुर्याउन पनि ३ करोड लिटर पानी आवश्यक पर्छ । सुख्खा सिजनमा १ करोड लिटर मात्र पानी छ ।’