धरान: धरानमा संक्रमणको स्रोतको रुपमा रहेको धरान ८, तीनकुनेस्थित प्रिति भल्व एण्ड फिटिङ्स उद्योगलाई सिल गरिएको छ ।

आज संक्रमण पुष्टि भएका उद्योगका एक कर्मचारी डेरा गरी बस्ने घरमा नै अन्य २ जना कर्मचारीहरु पनि बसेको खुलेपछि उद्योग सिल गर्ने निर्णय गरिएको मेयर तिलक राईले बताए । उनका अनुसार आज पोजेटिभ देखिएका कर्मचारी उद्योगमा निरन्तर नगए पनि अरु २ जना कर्मचारी उनी डेरा बसेको घरमा नै भएको खुलेको छ । ‘आज संक्रमण पुष्टि भएको कर्मचारी बसेको घरमा नै अरु २ जना कर्मचारी पनि बस्ने रहेछ । तिनीहरु चै नियमित उद्योगमा जाने भएकोले संक्रमण उद्योगमा पनि पुग्यो कि भन्ने भयो,’मेयर राईले भने,‘त्यसैले उद्योग सञ्चालकसँगै कुरा गरे सिल गर्ने निर्णय गरिएको हो ।’ मेयर राईले प्रहरीलाई निर्देशन दिइएको बताए ।

डिएसपी ज्ञानेन्द्र बस्नेतले उद्योग सिल भइसकेको बताए । उद्योग भित्र रहेका कर्मचारी भित्र नै रहने र बाहिरबाट आवतजावत बन्द गरिएको उनले बताए । ‘प्रहरी खटाइसकेको छुँ, रिपोर्ट नआएसम्म बन्द नै हुन्छ,’डिएसपी बस्नेतले भने । उपमहानगरले भोली उद्योगका सबै कर्मचारीको पिसिआर जाँच गर्ने भएको छ । आज प्रिति भल्वमा काम गर्ने २ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये एक जना कर्मचारीको श्रीमति र एक छोरा, एक छोरीलाई पनि पोजेटिभ देखिएको छ ।

यसअघि उद्योगको अडिटर धरान १३ का एक युवालाई पनि संक्रमण पुष्टि भएको थियो । उनको ट्राभल हिष्ट्री नभएको र उद्योगका एक कर्मचारी जनकपुर, विराटनगर आउजाउ गरिरहेको साथै ज्वरो पनि आएकोले ति कर्मचारीबाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको थियो । धरान १३ का संक्रमित युवा जाने धरान ८, पुरानो ट्राफिक चोकस्थित बोनस मलमा रहेको फिटनेस क्लब पनि यसअघि नै बन्द भइसकेको छ ।