धरान: सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले कोरोना महामारीको बेला नागरिक समाजका अगुवाहरु घरभित्रै बसिरहेकोप्रति कडा टिप्पणी गरेका छन् ।

आइतबार धरानमा आयोजित जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले लकडाउन खुकुलो बनाउदा स्वास्थ्य प्रोटोकल पालना गराउन नागरिक समाजको पनि भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे । लोकतन्त्र ल्याउन र अन्य गतिविधिमा अग्रणी भुमिका रहेको नागरिक समाज अहिले कोरोना महामारीमा लकडाउन खुकुलो भएको बेला आमजनतालाई सचेत गराउन निस्कनुपर्ने बताए । ‘२ दिन भयो लकडाउन खोलेको । फुटपाथमा पसल नराख्ने, मास्क लगाएर मात्र हिड्ने, पसलमा मास्क लगाएर बस्ने र मास्क नलगाउनेलाई बिक्री नगर्ने भन्ने हो, तर फुटपाथ जथाभावी देखे,’सिडिओ पोखरेलले भने,‘के यो काम प्रहरीको, प्रशासनको मात्र हो ? हाम्रो नागरिक समाज कता गयो ?’

सिडिओ पोखरेलले अहिले प्रहरीहरु, स्वास्थ्यकर्मीहरु फ्रन्टलाइन बसेर काम गरिरहदा संक्रमित पनि भइरहेको भन्दै यस्तो बेला नागरिक समाजहरु घरभित्र बस्न नहुने बताए । ‘अहिले मेयरले मात्र काम गर्ने, उपमेयरले मात्र काम गर्ने, निर्वाचिन प्रतिनिधिले मात्र काम गर्ने ? नागरिक समाज खै अगाडि कसरी बढ्ने हो ? नागरिक समाजले मास्क लगाउनुपर्छ भन्ने सिकाउनुपर्दैन,’उनले भने,‘पुलिसले मास्क नलगाएको मान्छेलाई जरिवाना गर्दै हिड्ने, मेयरले पुलिस आएन भन्दिने । एक जना पत्रकारलाई पुलिसले बोलिदियो भने पत्रकार रिसाउने ? यहाँ धेरै थरिको मान्छेहरु हुनुहुन्छ, नागरिक समाजको मान्छेहरु आउनुभएको छ । प्रत्येक नागरिक समाजले मेरो दायित्व हो भनेर खटिदिनुपर्यो ।’

cdo-fadindra

सिडिओ पोखरेलले नेपाल सरकार र प्रशासनले बजार, पसल बन्द गराउनुको औचित्यबारे नागरिक समाजले प्रष्ट पार्नुपर्ने बताए । लुकीलुकी खोलेका प्रत्येक होटल, पसलहरुमा प्रहरी पुग्न नसक्ने उनले बताए । ‘प्रत्येक पसल पिच्छे प्रहरी जान सक्दैन । प्रत्येकले म पुलिस हुँ, मैले पनि पुलिसको काम गर्नुपर्छ भन्ने सोच्यो भने सहज हुन्छ,’उनले भने,‘अन्थया बिहिबारदेखि यताको तथ्यांक हेर्ने हो भने पहिला संक्रमण कम थियो, निको हुनेको तथ्यांक बढी थियो । अहिले संक्रमण बढ्दो छ, निको हुनेको संख्या कम छ ।’

सिडिओ पोखरेलले अब कोरोना महामारीको बीचमा पनि सहज बनाउदै नयाँ सँस्कार र अनुशासन बनाएर अघि बढ्नुपर्ने पनि बताए । राजतन्त्र अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रमा आएर लोकतान्त्रिक गणतान्त्रिक सँस्कार अपनाए जस्तै अब कोरोना सँस्कारको भिडभाड नगर्ने, सिमित घेराभित्र रहने, स्वास्थ्य प्रोटोकलप्रति सचेत हुने नयाँ सँस्कारलाई अपनाउदै अघि बढ्न आवश्यक भएको सिडिओ पोखरेलको भनाई थियो ।