धरान: निजी तथा संस्थागत विद्यालयमा कार्यरत प्रदेश १ का शिक्षक, कर्मचारीहरुले शनिबार इटहरीमा प्रर्दशन गरेका छन् ।

निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) र संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(इस्टु)को प्रदेश समितिले विरोध कार्यक्रम आयोजना गरेको हो । शिक्षा क्षेत्रमा देखिएको चुनौती तथा शिक्षक, कर्मचारीहरुको समस्या समाधान गर्न स्थानीय तहहरुले तत्परता नदेखाएको भन्दै शिक्षक कर्मचारीहरुले विरोध प्रर्दशन गरेका हुन् । कार्यक्रममा केन्द्रदेखि नगरसम्मकाहरु शिक्षक, कर्मचारीहरु सहभागी भएका थिए ।

लकडाउनयता शिक्षक, कर्मचारीहरुले तलब नपाउदा आर्थिक संकटबाट गुज्रिरहेका छन् । निजी तथा संस्थागत विद्यालय सञ्चालकहरुले पनि शिक्षकहरुको बिषयमा मौनता तोडेर निकास निकाल्नुपर्ने विरोध कार्यक्रममा सहभागी शिक्षक वक्ताहरुले आग्रह गरेका छन् । ‘स्थानीय सरकारले शिक्षा क्षेत्रमा देखिएका चुनौती अपनत्व ग्रहण गर्दै निकास चाडो निकाल्नुपर्छ भनेर खबरदारी गरिएको हो,’प्याब्सुका जिल्ला अध्यक्ष रोम ढुंगेलले भने,‘अब प्याब्सन, एनप्याब्सनले पनि मौनता भंग गरेर निकास निकाल्नुपर्छ । अहिलेसम्म शिक्षक, कर्मचारीहरुलाई के गर्ने भनेर ठोस अवधारणा दिएकै छैनन्, त्यसैको सन्दर्भमा पनि विरोध गरिएको हो ।’

teacher1

शिक्षक, कर्मचारीहरुले इटहरी उपमहानगरपालिकाबाट विरोध र्याली पनि निकालेका थिए । र्याली इटहरीको मुख्य चोक पुगेर पुनः उपमहानगरपालिकामा पुगेर विरोधसभामा परिणत भएको थियो । सभालाई बुद्धिजिवी गोपीकृष्ण खतिवडा, प्याब्सुका केन्द्रीय सदस्य गिरीराज खतिवडा, इष्टुका प्रदेश १ अध्यक्ष यादव अधिकारीले पनि सम्बोधन गरेका थिए ।

माविस्तरको शिक्षाको जिम्मेवारी स्थानीय तहले पाएको छ । लकडाउन यता विद्यालयहरु बन्द छन् । जसको कारणले शिक्षकहरुले पनि तलब पाउन सकेका छैनन् । अनलाइन कक्षा शुरु गरेका केही विद्यालयहरुले अभिभावकहरुलाई भर्ना र मासिक शुल्क तिर्न दबाब दिइरहेका छन् भने अभिभावकहरु पनि भर्ना(बार्षिक) शुल्क तिर्न नसक्ने र मासिक शुल्कमा पनि छुट दिनुपर्ने माग गरिरहेका छन् । विद्यालय सञ्चालकहरु पनि अभिभावकहरुले शुल्क नतिरेको कारण आम्दानी नभएर बैंक किस्ता, घर भाडा, शिक्षक कर्मचारीहरुलाई तलब खुवाउन नसकेको गुनासो गर्दै आइरहेका छन् । धरान, इटहरीलगायत केही स्थानीय तहहरुले समाधानको प्रयास गरिरहे पनि अधिकांश स्थानीय तहहरुले शिक्षा क्षेत्रमा देखा परेको समस्या हल गर्न पहल गरेका छैनन् ।