धरान: स्थानीय सरकार र अभिभावकहरुबाट तीब्र दबाब परेपछि विद्यालयको शुल्क निर्धारणबारे धरानका निजी विद्यालयहरुले संयुक्त कार्यदल गठन गरेका छन् ।

आज सोमबार धरानका ५ दर्जन बढी विद्यालय सञ्चालकहरुको भेलाले शुल्क निर्धारणबारे स्थानीय सरकारसँग वार्ता गर्न एक कार्यदल गठन गरेको हो । भेलामा प्याब्सन र एन प्याब्सनसँग आवद्ध धरानका निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरु सहभागी थिए । बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको धरानका संस्थागत विद्यालयहरुको समन्वय समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । कार्यदलको नेतृत्व पनि गुरुङले नै गरेका छन् ।

संयोजक गुरुङका अनुसार शुल्कबारे अभिभावक र धरान उपमहानगरपालिकाको एक खालको प्रस्ताव एवं धारणा आएको छ । भेलामा सोही धारणाबारे छलफल गरेर कार्यदल गठन गरिएको उनले बताए । ‘धेरै महिनाको शुल्क नलिनु भन्ने छ, र सबै भार विद्यालय सञ्चालकहरुले नै बोक्नुपर्ने भन्ने देखिन्छ,’गुरुङले भने,‘अहिलेको अवस्थामा मारमा सबै छौं, भार सबैले अलिअलि बोक्दा हुने हो, तर सबै भार हामीले मात्र बोक्नुपर्ने जस्तो प्रस्ताव छ ।’

उनका अनुसार विद्यालय सञ्चालकहरुलाई घरभाडा, शिक्षकको तलब, बैंकको किस्ता, गाडीको किस्ता, होस्टलका कर्मचारीलगायत सबैको आर्थिक भार छ । ‘भोली मंगलबार बिहान फेरि कार्यदलको बैठक बस्छौ, र ठोस धारणा बनाउछौं,’संयोजक गुरुङले भने । संस्थागत विद्यालय र उपमहानगरपालिका बीच सोमबार बैठक राखिएको थियो । तर, विद्यालय सञ्चालकहरु बीचको छलफल नटुंगिए पछि बैठक रद्द भएको थियो । ‘प्याब्सन, एन प्याब्सनकै बैठक समयमा सकिएन, र आज भ्याएनौं भन्नुभयो,’शिक्षा महाशाखा प्रमुख रत्न कटवालले भने ।