धरान: निजी विद्यालयहरुमा अनलाइन कक्षाको शुल्कबारे जारी छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गर्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा दबाब दिएका छन् ।

आज धरानका विभिन्न विद्यालयका अभिभावकहरुले प्ले कार्डसहित गएर उपमहानगरपालिकालाई दबाब दिएका हुन् । उनीहरुले शुल्क निर्धारणबारे निर्णय गर्न ढिलाई गरेको प्रति उपमहानगरपालिकासँग चर्को असन्तुष्टी प्रकट गरेका छन् । साथै, शुल्कबारे निर्णय हुन बाँकी नै रहदा पनि निजी विद्यालय सञ्चालकहरुले भर्ना गर्न र शुल्क तिर्न दबाब दिइरहेकोप्रति पुनः अभिभावकहरुले उपमहानगरपालिकाको पनि ध्यानाकर्षण गराएका छन् ।
प्ले कार्डसहित पुगेका अभिभावकहरुले शिक्षा महाशाखा प्रमुख रत्न कटवाल र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई पनि भेट गरेका थिए ।

उनीहरुले शिक्षा शुल्कबारे विद्यालय सञ्चालन र शिक्षकहरुसहितको छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गरेका छन् । ‘हाम्रो मुख्य माग भनेको शुल्कबारे निर्णय गर्न किन ढिलाई भइरहेको छ भन्ने हो । निर्णय नै नहुदा पनि स्कुलले भर्ना गर्नु भनिरहेको छ, के यो जायज हो ?’एक अभिभावक विकास भाटीले भने ।

educ

अभिभावकहरुले स्कुल बन्द अवस्थामा रहेकोले विगतमा जस्तो बार्षिक शुल्कको नाममा लिदै आएको भर्ना शुल्क लिन नमिल्ने बताउदै आएका छन् । पठनपाठन सुचारु हुदा मात्र विभिन्न क्रियाकलापहरु हुने र बार्षिक शुल्क लिन पाउने भन्दै अभिभावकहरुले स्कुल नै नलागेको समयमा भर्ना शुल्क लिन नमिल्ने अडान राख्दै आएका छन् । तर, विद्यालय सञ्चालकहरुले भने अभिभावकहरुलाई भर्ना गर्न दबाब दिइरहेका छन् । ‘शुल्कबारे छलफल भइरहेको छ, त्यो छलफलमा हामी अभिभावकहरुको पनि प्रतिनिधित्व हुनपर्छ भनेर माग गरेका छौं,’भाटीले भने,‘उपमेयर ज्युले तपाईहरुको माग जायज छ, अनावश्यक शुल्कबारे छलफल गछौं भन्नु भयो । छलफलमा पनि प्रतिनिधिमुलक सहभागी गराउने भनेर नाम माग्नु भएको छ ।’

सरकारले असोज २७ गतेदेखि मात्र वैकल्पिक सिकाई तथा पठनपाठन शुरु गर्ने भनेपनि कतिपय विद्यालयहरुले बैशाखदेखि नै अनलाइन कक्षा चलाएका छन् । ती विद्यालयहरुले बैशाखदेखि नै मासिक शुल्क तिर्न र भर्ना गर्न दबाब दिइरहेका छन् । तर, शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाले वैकल्पिक सिकाई पठनपाठन शुरु गर्ने र शुल्कबारे स्थानीय तहले निर्णय गर्ने भनेको छ । स्थानीय तहहरुले निर्णय नगरी नै विद्यालयहरुले भने विगतमा जस्तै भर्ना र मासिक शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिइरहेका छन् । कोरोना महामारीले सबैलाई मारमा परेकोले विगतमा जस्तो भर्ना र पुर्णरुपमा शुल्क तिर्न नसक्ने भन्दै अभिभावकहरुले उपमहानगरपालिकालाई यसअघि नै ज्ञापन पत्र पनि बुझाई सकेका छन् । 

अभिभावकहरुले गठन गरे १३ सदस्यीय समिति

edu3

अभिभावकहरुलाई मार पर्ने गरि शुल्क लिन नहुने भन्दै निरन्तर दबाब दिइरहेका धरानका विभिन्न विद्यालयका अभिभावकहरु संगठित हुने क्रममा १३ सदस्यीय समिति गठन गरेका छन् । समितिको नाम धरान विद्यालय अभिभावक परिवार राखिएको छ ।

उनीहरुले आज मंगलबार उपमहानगरापालिकामा शुल्कबारे प्रर्दशन गर्दै समिति पनि गठन गरेका हुन् । समितिको संयोजक भने तोकिएको छैन । समितिमा अमृत मानन्धर, सुर्य भण्डारी, अनिता राई, विनोद तिम्सिना, सुवर्ण श्रेष्ठ, विकास भाटी, गृष्म न्यौपाने, मदन राई, घिसिङ जयदेव, सुनिल श्रेष्ठ र शुशिला राई रहेका छन् । यो समितिले विद्यालय सञ्चालकहरुसँग शुल्कबारेको बैठकमा को को प्रतिनिधित्व गर्ने भनेर निर्णय गर्ने सदस्य भाटीले जानकारी दिए । तस्बिर स्रोत: फेसबुक