धरान: प्रदेश नं १ को एक मात्र गल्फ कोर्ष धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र छ । यो गल्फ कोर्ष १८ होलको रहेको छ ।

गल्फ कोर्ष र गेष्ट हाउस निर्वाणा कन्ट्री क्लब एण्ड हेल्थ रिसोर्टले प्रतिष्ठानसँग लिजमा लिएको थियो । तर, सम्झौता अवधि सकिनु अगावै गत फागुनमा निर्वाणाले एक्कासी गल्फ कोर्ष तथा गेष्ट हाउसहरु सञ्चालन, व्यवस्थापन गर्न छोडेर गएको छ । त्यसयता कोर्षको रेखदेख तथा मर्मतसम्भार निरन्तर धरान गल्फ क्लब र क्लबका आवद्ध धरानका गल्फ खेलाडीहरुले नै गरिरहेका छन् । क्लब र खेलाडीहरुले अहिले मात्र होइन, हिजो निर्वाणाले ठेक्का लिएकै समयमा पनि कोषको रेखदेख एवं मर्मत गरिरहेकै थियो । निर्वाणाले लिजमा लिएर गाई पालन गरेको, अदुवा बेसार खेती गरेको भन्दै व्यापक आलोचना भएको थियो । गल्फ कोर्षलाई गाईबस्तु चरण बनाएपछि खेलाडीहरु रुष्ट थिए । 

प्रतिष्ठानले गल्फ कोर्ष र गेष्ट हाउसलाई कसरी सञ्चालन, व्यवस्थापन गर्ने भनेर निर्णय गरिसकेको छैन । प्रतिष्ठानको प्राथमिकतामा चिकित्सा शिक्षा र स्वास्थ्य उपचार पर्छ । त्यसैले गेष्ट हाउस र गल्फ कोर्ष पुनः ठेक्का लगाउने चर्चा पनि छ । तर, धरान गल्फ क्लब र यहाँका खेलाडीहरु भने हिजोको जस्तो खेलसँग कुनै सम्बन्ध नभएको संस्थाको हातमा कोर्ष पुग्ने गरि ठेक्का लगाउन नहुने पक्षमा छन् । क्लबले लिखितरुपमा नै गल्फ कोर्षको सञ्चालन, व्यवस्थापनको जिम्मा दिन प्रतिष्ठानसँग माग गरेको छ ।

golf-course6

क्लब र खेलाडीहरुमा गल्फ कोर्षप्रति अपनत्व भएकोले सञ्चालन, व्यवस्थापनको जिम्मा क्लबलाई दिनुपर्ने आम खेलाडीहरुको माग रहेको सचिव जितेन्द्र चाम्लिङ राई बताउँछन् । उनका अनुसार गल्फ कोर्षलाई सधैभरि माया गर्ने गल्फ खेलाडीहरु क्लबमा आवद्ध छन् । क्लब राष्ट्रिय खेलकुद परिषदमा पनि दर्ता भएको संस्था हो । ‘अहिलेसम्म क्लबकै नेतृत्वमा स्याहार, सम्भार भइरहेको छ, क्लबले हेरचाह गर्दा वेफाइदा के हुन्छ ? हाम्रो एक मात्र उद्देश्य भनेको कोर्षलाई बचाउनुपर्छ भन्ने हो,’सचिव राई भन्छन्,‘क्लब र खेलाडीहरुमा अपनत्व छ । ठेक्का लगाउनु हुदैन ।’

सचिव राईका अनुसार क्लब हाउस(खेलाडीको सामान राख्ने हाउस), क्याडी हाउस(क्याडीहरु बस्ने ठाउँ) र कोर्ष क्लबलाई सञ्चालन, व्यवस्थापन गर्न दिए पुग्छ । क्लबका अध्यक्ष टिका लिम्बु पनि कोर्षको सञ्चालन, देखदेख क्लब र धरानका खेलाडीहरुले गरिरहेकोले निजी क्षेत्रलाई भित्रिने गरि ठेक्का दिन नहुने धारणा राख्छन् । उनी पनि क्लबलाई नै सञ्चालन गर्न दिनुपर्ने बताउँछन् । निर्वाणाले छोडेपछि गल्फ कोर्षमा अभ्यास गर्न गएका खेलाडीहरुलाई प्रतिष्ठानका सेक्युरिटी गाडीहरुले खेल्न नदिएको भन्दै उनले गुनासो पनि गरे ।

golf-course

धरान गल्फ क्लब सन् १९६२ मा स्थापना भएको हो । अझ गल्फ कोर्ष त्योभन्दा पनि अगाडि निर्माण भएको हो । शुरुवातमा यो कोर्ष ३ होलको मात्र भएको बताइन्छ । ब्रिटिश क्याम्प बसेको हुनाले ब्रिटिश(गोरा)हरुले अभ्यास गर्न कोर्ष बनाएका हुन् । पछि १८ होलको अन्तर्राष्ट्रिय मापदण्डको कोषए बनेपछि धरान गल्फ क्लब गठन भएको हो ।

सन् १९८९ मा धरानबाट ब्रिटिश क्याम्प उठेर पोखरा गयो । त्यो बेला कोर्षको संरक्षण जिम्मा तत्कालिन नगर पञ्चायतले पाएको बताइन्छ । यद्यपी, कोर्ष रेखदेख गर्ने जम्मेवारी भने गल्फ क्लबको भएको पुराना खेलाडीहरु बताउँछन् । पछिल्लो समय निर्वाणाले कोर्ष लिजमा लिए पनि क्लबले नै देश विदेशबाट सहयोग जुटाएर पानी ट्यांकी निर्माण गरेको थियो भने नियमितरुपमा घाँस काट्ने व्यवस्था पनि गरिरहेको छ ।

सरोकारवालासँग वृहत छलफल गरेर निर्णय गछौं: रजिष्ट्रार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले गल्फ कोषको सञ्चालन, व्यवस्थापन कसरी गर्ने भनेर सरोकारवालाहरुसँग वृहत छलफल गर्ने बताए । क्लिक धरानसँग प्रतिक्रिया दिदै रजिष्ट्रार रेग्मीले निर्वाणाले सम्झौता अवधि सकिनु पहिला नै कोर्षको लिज छोडेको र अहिले धरान गल्फ क्लबले नै कोर्ष हेरिरहेको पनि बताए । ‘गल्फ क्लबले नै कोर्ष हेरिरहेको छ, क्लबले माग पनि गरेको छ,’रजिष्ट्रार रेग्मीले भने,‘यो बिषयमा वृहत छलफल गर्नुपर्नेछ । सरोकारवालाहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।’

golf-course1 golf-course3 golf-course4