धरान: सेछ ट्राभलिङले यसबर्षको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार वितरण नगरी मस्तिष्क पक्षघात भएका एक सञ्चारकर्मीलाई सहयोग गर्ने घोषणा गरेको छ ।

ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले मंगलबार एक विज्ञप्ती जारी गर्दै १० हजार रुपैया राशीको पुरस्कार यो बर्ष सञ्चारकर्मीको सहयोगमा परिणत गर्ने निर्णय गरेको जानकारी दिएकी छिन् । धरानमा कार्यरत सञ्चारकर्मी दिलिप रोनोहोछा एक महिनादेखि मस्तिष्क पक्षघातको कारण अस्प्तालमा उपचाररत छन् । सेक्षले रोनोहोछालाई नै सहयोग स्वरुपम पुरस्कारको राशी प्रदान गर्ने जनाएको हो ।

सेक्षले २०७१ सालदेखि पर्यटन बिषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनको लागि पुरस्कार प्रदान गर्दै आइरहेको थियो । सञ्चारकर्मी रोनोहोक्षालाई आर्थिक सहयोगको खाचो रहेकोले सहयोग गर्ने निर्णय भएको सेक्षले जनाएको छ । ‘हामीले कुनै सञ्चारकर्मीलाई हौसला दिन छुट्याएको रकम कुनै सञ्चारकर्मीको जीवन बचाउन काम लाग्छ भने त्यो उत्तम होला जस्तो लागेर यस वर्षको पुरस्कारको राशी सञ्चारकर्मी दिलिपज्यूको उपचारका लागि सहयोग गर्ने निर्णय गरेका छौ । यस्तै सहयोगको हात बढाउन हामी सहयोगी सबै मनहरूलाई आग्रह पनि गर्दछौ,’सेक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

सञ्चारकर्मी रोनाहोक्षा धरानको विजयपुर एफएममा कार्यरत थिए । सञ्चारकर्मी रोनाहाक्षा नोबेल अस्पतालको न्युरो वार्डमा उपचाररत छन् । सेक्षले बुधबार अस्पतालमा नै पुगेर उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने जनाएको छ । पुर्वको पर्यटनलाई आधार बनाएर स्थापित भएको सेक्ष नवौं बर्ष पुग्न लागेको छ । सेछ ट्राभलिङपछि होटल सेछ र होटल सेछ इन सञ्चालनमा आइसकेको छ भने साहसिक गतिबिधी सञ्चालित हुने गरी सेछ एडभेञ्चर एण्ड होलिडेज पनि निर्माण गरिरहेको छ । सेक्षले धरानको २० नं. वडाको चिण्डेडा“डा“मा करिव ३ बिघा क्षेत्रफलमा एडभेञ्चर पार्कको निर्माण गरिरहेको छ ।