धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको उपचारको लागि धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले आर्थिक सहयोग गरेको छ ।

स्कुलले नगद ६ हजार ८ सय रुपैया सहयोग गरेको हो । सहयोग रकम स्कुलका प्रधानाध्यापक राजकुमार लिम्वुले प्रदेश नं.१ को वास्केटवल टिम क्याप्टेन नविन राईलाई हस्तान्तरण गरेका थिए । सहयोग रकम विद्यालयका संयोजक मिलन थुलुङ्गको पहलमा विद्यालयका विद्यार्थी र कर्मचारीहरुवाट संकलन गरिएको हो ।

बस्केटवल खेलाडी गुरुङ्गको उपचारका लागि सहयोग संकलन अभियान भइरहेको थाह पाएपछि विद्यालयकोतर्फबाट सहयोग गरिएको थुलुङले बताए । उक्त विद्यालयमा प्रदेश नं का टिम क्याप्टेन नविन प्रशिक्षककोरुपमा कार्यरत छन् । उनीबाट नै विद्यालयले घाइते खेलाडीलाई सहयोग अभियान भइरहेको जानकारी भएको थियो ।

लकडाउनको बेला तरहराको बास्केटवल कोर्टमा सेल्फ प्रशिक्षणको बेला खेलाडी गुरुङ्ग घाइते भएका थिए । उनको दाहिने खुट्टाको एसिएल च्यातिएको छ । उनको मेजर सर्जरी गर्नु पर्ने र उपचारको लागि करिब ३ लाख खर्च हुने चिकित्सकहरुले बताएका छतन् । उनको सहयोगको लागि यसअघि धरान बास्केटवल संघ, जिल्ला बास्केटवल संघले च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल आयोजना गरेको थियो । डिपो स्कुलको खेल मैदानमा धरान बास्केटवल टिम र झापा बास्केटवल टिमबीच च्यारिटि खेलमार्फत करिब २ लाख रुपैया सहयोग संकलन गरेर संघले खेलाडी गुरुङ्गलाई हस्तान्तरण गरिसकेको छ ।