धरान: अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङ्ग थप उपचारको लागि अस्पताल भर्ना भएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका खेलाडी गुरुङ्गलाई बास्केटवल संघले थप सहयोग रकम प्रदान गरेको छ । संघका पदाधिकारीहरुले अस्पतालमा पुगेर नै शनिवार उनलाई सहयोग रकम हस्तान्तरण गरेको हो । च्यारिटि कार्यक्रमको समापन पछि पनि उठेको नगद ३५ हजार ९ सय १० रुपैया बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले गुरुङलाई प्रदान गरेका हुन् । केही रकम भने सहयोग दाताहरुले संघले उपलव्ध गराएको गुरुङ्गको वैंक खातामा नै जम्मा गरिदिएका छन् ।

गुरुङ्ग डाक्टरको सल्लाह अनुसार पुस १५ गते अस्पताल भर्ना भएका छन । उनको शल्यक्रिया आज गरिने भएको छ । कार्तिक १९ गते लक्ष्मि पुजाको दिन प्रशिक्षणको क्रममा घाइते भएका गुरुङ्ग डाक्टरको सल्लाह अनुसार थेरापी गराइरहेका थिए । उनको अर्थोस्कोपिक सर्जन प्रो. डा. विष्णु पोख्रेलको रेखदेखमा उपचार भइरहेको छ ।

खेलाडी गुरुङ्ग घाइते भए पछि धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघले गुरुङ्गको उपचारको लागि अभियान चलाएको थियो । सहयोग संकलनको लागि पुष ८ गते धरान टिम र झापा टिम विच आयोजना गरिएको च्यारिटि मैत्रिपुर्ण बास्केटवल म्याच वाट उठेको नगद दुई लाख रुपैया भने सोही कार्यक्रमको दिन नै गुरुङ्गलाई हस्तान्तरण गरि सकेको छ । डाक्टरका अनुसार गुरुङ्गको एसिएल लिगामेन्ट पुर्ण रुपमा च्यातिएको र मेडियल मिनिस्कस र ल्याटिरियल मिनिस्कसको केहि भाग च्यातिएको छ । उनको ह्यामेस्ट्रिङको लिगामेन्ट निकालेर एसिएल भएको ठाउमा इम्प्लान्ट गर्नु पर्ने हुन्छ ।  तस्विरः बिकास चाम्लिङ राई