वेलवारीः पूर्वपश्चिम राजमार्गको बेलवारी बजार छेउमै रहेको वेतना सिमसार पुग्दा धेरैका आँखा हरियो तलाउ र वरपरका घना जंगलमा रमाउँछन् । शान्त तलाउ र चराको चिरविर आवाजले पर्यटकलाई मन्त्रमुग्ध बनाइ दिन्छ । 

यही ठाउँको आनन्द लिन धेरै मानिस घुमफिर र पिकनिका लागि पुग्नेगर्छन् । तर, मानिसको क्षणिक आनन्दका लागि बजाइने चर्को ध्वनी र होहल्लाले यस क्षेत्रमा रमाउने चराहरु भने वर्षेनी घटिरहेका छन् । प्राकृतिक पर्यावरणलाई आफ्नै लयमा फर्काउन यस सिमसारको व्यवस्थापनले सिमसार क्षेत्रमा मानिसको चाप काम गर्ने उपाय अनुरुप पिकनिक खाने र नाचगान गर्ने २० विगाह क्षेत्रफलको अलग्गै स्थान तोकिदिएको छ । ताल आसपास मानिसको भिडभाड तथा कोलाहललाई कम गर्ने र प्लास्टिकजन्य सामाग्रीलाई निषेध गरेको छ ।  

betana

‘प्राकृतिक वासस्थान मानिसको मात्र नभइ चराचुरुङ्गी किरा फट्यांग्राको पनि हो । जसले पर्यावरण जोगाउन मदत गरिरहेका हुन्छन्,’वेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतले भने,‘मानिसको मनोरञ्जनका लागि प्राकृतीक वासोवासस्थललाई नै नोक्सान पुर्याइरहेको अनुभुति भएपछि हामीले सिमसार क्षेत्रमा मानवहस्तक्षेपलाई नियन्त्रण गर्ने दीर्घकालिन योजना अघि सारेका छौँ ।’

१ सय ७४ हेक्टर क्षेत्रफलमा रहेको वेतना पर्यटकीय स्थलमा हाइवेबाट माथिल्लो भागलाई मानव आवतजावत नियन्त्रीत क्षेत्र बनाउने र हाइवेदेखि तल्लो भागमा मात्र पिकनिक र नाचगान गर्न मिल्ने क्षेत्र बनाउन लागिएको हो । 

घाइते पशुपंक्षीको उद्दारस्थल

betana-2

यस स्थानमा रोगी, बृद्ध र घाइते जंगली पंक्षी तथा जनावरको उद्दारस्थलसमेत बनाइएको छ । हेर्दा चिडियाखाना जस्तो देखिएपनि व्यवस्थापनले उपचार गराइरहेका लोपउन्मुख प्रजातिका गिद्धसहितका पंक्षी र जनावरलाई औषधी उपचार र आहारा दिएर राखेको छ, जुन आम्दानीका स्रोतसमेत बनिरहेको अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए ।  

वार्षिक करिब १ करोड आम्दानी रहेको वेतनामा वार्षिक २ लाख ३० हजार पर्यटक घुमिफिरका लागि र ३५ हजार पर्यटक पिकनिक कै लागि आउने गरेका छन् । मानिसको भिडबढेसँगै प्राकृतिक सौन्दर्यलाई जोगाइ राख्न चुनौती बढेपछि २० वर्षे गुरुयोजना बनाई कार्यान्वयन गर्ने व्यवस्थापनको नीति पर्यटकीय गतिविधि गर्ने अन्य सिमसार क्षेत्रका लागि पनि उदाहरणीय रहेको देखिन्छ ।