धरान: खानेपानीको चरम अभावले धरानबासीहरु आहत छन् । दिन बिराएर पानी वितरण गर्ने भनेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले भनेजस्तरी वितरण गर्न सकेको छैन । 

खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी संघर्ष समिति दिनहुँ आन्दोलनमा छ । एक सातादेखि धरान १६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेर संघर्ष समितिले धर्ना दिइरहेको छ । संघर्ष समितिलाई आम नगरबासीहरुले साथ दिइरहेका छन् । खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तथा दायित्व बोर्डमा मर्ज गरेपछि समस्या समाधान हुने धेरैले अपेक्षा गरेका थिए । इन्टरकनेक्सन हुन नपाउदा समस्या भएको भन्ने आयोजनाका अधिकारीहरुको विगतको अभिव्यक्तिले पनि बोर्डमा समायोजन भएपछि सहज आपूर्ति हुने अपेक्षा थियो । तर, बोर्डमा संस्थान गाभिएपछि झनै पानीको हाहाकार छ । 

चौतर्फी आलोचना हुन थालेपछि आइतबार धरान खानेपानी बोर्डले पत्रकार सम्मेलन गर्दै खानेपानी अभाव हुनुको कारण र समस्या समाधान गर्न भइरहेको पहलबारे प्रष्टीकरण दिएको छ । बोर्डका अध्यक्षसमेत रहेका मेयर तिलक राई, बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल र परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालले खानेपानी वितरणलाई सहज बनाउने प्रयास भइरहेको बताएका थिए । मेयर राईले संस्थान जिम्मा लिएपछि नगरबासीहरुलाई पानी खुवाउन प्रयत्न भइरहेको बताए । उनले संस्थानको बिग्रिएको २ वटा पम्प र मेनलाइन पाइप मर्मतको काम सम्पन्न भइसकेकोले अब केही दिनभित्रै एक दिन बिरातएर पानी खुवाउन सक्ने दाबी गरे ।

dharan-water1

मेयर राईका अनुसार खानेपानी सहज बनाउनकै लागि दिनरात काम भइरहेको बताए । उनले उत्पादन भएको पानी रिजर्भ ट्यांकीसम्म पुर्याउन विभिन्न स्थानमा नन रिटर्न भल्भ राख्ने, लिकेज मर्मत गर्ने, पम्पहरु मर्मत गर्ने तथा नयाँ खरिद प्रक्रिया अघि बढाउने कार्य शुरु भएको बताए । यस्तै, मुल सप्लाई पाइपबाट सोझै भल्भ खोलेर आफुखुशी लाने गरेको पाइएकोले त्यस्ता भल्भहरुलाई साँचो लगाएर छोप्ने काम गरेर रात्री निरीक्षण पनि शुरु गरिएको मेयर राईले बताए । उनले खानेपानीलाई सहज बनाउन उपमहानगर तथा बोर्ड जुटिरहेकोले सहयोग गर्न सबै नगरबासीहरुलाई आग्रह पनि गरे । 

खानेपानीलाई सहज बनाउन तत्काल गर्नुपर्ने र दीघकालिनरुपमा गर्नुपर्ने कामहरुको पहिचान गरेर अघि बढेको मेयर राईको भनाई थियो । खानेपानी आयोजनामा प्राविधिक, आर्थिक, नीतिगत अनियमितता भएको प्रमाणित भएमा जिम्मेवार सबै पदाधिकारी, कर्मचारी, ठेकेदार र परामर्शदाता कारबाहीको भागीदार बन्ने र बनाउने पनि मेयर राईले प्रतिवद्धता व्यक्त गरे । 

भिडियो:

भिडियो: