धरान: कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदहरुले फ्लो क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीको पद जोगाइदिएपछि १ नम्बर प्रदेशमा पनि विपक्षी दलहरु अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको चर्चा छ । 

लुम्बिनी प्रदेशमा सोमबार अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश १ मा पनि विपक्षी दलहरुले तयारी गरिरहेको समाचारहरु मिडियामा प्रकाशित भएको थियो । एमाले नेता माधव नेपाल पक्षका सासदहरुले प्रदेश १ मा पनि फ्लोर क्रस गर्दै अविश्वासको प्रस्तावको पक्षमा मत दिएर मुख्यमन्त्री शेरधन राईको सरकार ढाल्न मद्दत गर्ने विपक्षी दललाई आशा छ । प्रदेश १ मा एमालेको बहुमत भएपनि माधव नेपाल समुहका सांसदले फ्लोर क्रस गरेमा सरकार संकटमा पर्नसक्छ । अविश्वासको प्रस्ताव ल्याउन माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग पहल गरिरहेको बताइएको छ ।

यसअघि पनि नेकपा नफुटेकै अवस्थामा माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसबेला कांग्रेसल ठोस निर्णय लिन नसकेको थिएन । अदालतको फैसलाले नेकपा विभाजन भएर साविककै एमाले र माओवादी केन्द्र ब्युतिए पछि अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । 

एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच दुरी बढ्दै गएपछि कर्णाली प्रदेशमा फ्लोर क्रसको घटना भएको थियो । उक्त घटनाले एमाले नेतृत्वको सरकार रहेको अन्य प्रदेशका प्रतिपक्षी दलहरु पनि उत्साहित छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

यता प्रदेश १ मा भने माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अविश्वासको प्रस्ताव ल्याउने तयारीबारे अनभिज्ञता प्रकट गरे । उनले भर्खर मात्र अविश्वासको प्रस्ताव फिर्ता लिएको भन्दै आफुलाई त्यसबारे जानकारी नभएको बताए । 'मैले पनि मिडियाहरुमा हेरेको हो । हामीले अविश्वासको प्रस्ताव भर्खर फिर्ता लिएको हो । अहिले त्यस्तो केही सोचेका छैनौं,'उनले भने,' कर्णाली प्रदेशको घटनाले यता पनि अनुमान लगाएको होला ।' 

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् । ती मध्ये एमालेका ५१, कांग्रेसको २१, माओवादी केन्द्रका १५, जसपाका ३ जना सांसद छन् भने राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन् । माओवादी केन्द्रका एक जना सांसद हटाइएको छ ।