धरान: पछिल्लो दुई साता धरानको शान्ति सुरक्षासँग जोडिएका दुई घटना भयो, जसको  सामाजिक सञ्जाल र जनस्तरमा नै व्यापक चर्चा, बहस भयो । यी दुवै घटना हुँदा ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र बस्नेत भने कोरोना संक्रमण भएर आइसोलेसनमा थिए ।

जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक युवाहरुको समुहले प्रहरीमाथि हतियारले आक्रमण गरि घाइते बनाएका थिए भने चौकीमा ढुंगा प्रहार गरि तोडफोड गरेका थिए । उक्त घटनामा संलग्न १० जना मध्ये ५ जना पक्राउ परिसकेका छन् । यस्तै, जेठ २६ गते सर्दु खोलामा भइरहेको उत्खनन् रोक्न पुगेका हर्क साम्पाङको टोलीमाथि आक्रमण भएको थियो । प्रहरीले घाइतेहरुलाई नै पक्राउ गरेर मुद्दा चलाएको भन्दै आलोचना पनि भइरहेको छ । 

यी दुवै घटनाबारे डिएसपी बस्नेतको धारणा आएको थिएन । तर, हिजो आइतबार धरान नागरिक दबाब सञ्जालको बैठकमा यो दुवै एजेण्डाबारे छलफल भयो, र उक्त बैठकमा सहभागी डिएसपी बस्नेतले आफ्नो धारणा पनि राखेका थिए । बैठकमा दबाब सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माले एजेण्डाकोरुपमा कुरा उठाए पछि डिएसपी बस्नेतले दुवै घटनाबारे आफ्नो धारणा व्यक्त गरे । उनले धरान १५ को प्रहरी चौकी घटनालाई चौकीमा आक्रमण भएको भनेर गरिएको प्रचारप्रति असन्तुष्टी जनाए । दुई युवा पक्षबीच हुन लागेको झगडा छुट्याउने क्रममा प्रहरीमाथि हतियार प्रयोग गरेर फुत्किएर भागेको घटनालाई बढाईचढाइ गरेर बाहिर ल्याएको डिएसपी बस्नेले बताए । 

dsp-gyanendra

‘त्यो अवस्थामा प्रहरीको सामान्य कमजोरी के हो भने उनीहरुलाई नियन्त्रणमा लिएर राख्न सक्नुपथ्र्यो । प्रहरीभन्दा बढी संख्या भएर सामान्य घरेलु हतियार प्रयोग गरेर भाग्न सफल भएको अवस्था चै हो । गलत शब्दावली प्रयोग के गरियो भने चौकी आक्रमण भनियो । चौकी आक्रमण भनेको के हो ?,’डिएसपी बस्नेतले भने,‘दुईटा पक्षबीच भएको झगडामा एक पक्षलाई प्रहरीले बचाउन पनि सक्यो । उनीहरुबीच काटमार हुने अवस्था पनि थियो । दुईटा पक्षलाई झगडा हुन नदिएर उनीहरुलाई नियन्त्रणमा लिएर लागेको चोटबाहेक त्यो घटना त्यति ठुलो होइन, बढाई चढाई गरेर ल्याइएको हो ।’

ईलाका र वडा प्रहरी कार्यालयबाहेक अन्य चौकीको भवन कम्पाउण्ड र सुरक्षा नीति अनुसार नभएको उनले बताए । जनतालाई घर दैलोमा सेवा दिने उद्देश्यले जनस्तरबाट बनेका चौकीहरुमा एकदमै न्युन कर्मचारीहरु खटाइएको उनले बताए । नर्मल पुलिसिङमा रातदिन हातहतियार बोकेर प्रहरीले नखटिने उनको भनाई छ । ‘त्यो आकस्मिक घटनाबाहेक केही होइन । तर प्रचार चै कसरी गर्यौं भने धरानमा चौकीमाथि आक्रमण,’डिएसपी बस्नेतले भने,‘हुन त धरान बाहिरका मान्छेलाई धरानमा गुण्डागर्दी हुने भन्ने छ । तर अहिले धरानमा कति गुण्डागर्दी छ ? के मा गुण्डागर्दी छ ? म आएपछि कुनै पनि यस्तो घटना छैन, जहाँनिर त्यो मान्छेलाई कानुनी कारबाही नगरिएको होस् ।’

उनले पानवारीको वृद्ध महिलाको हत्या घटनाको अभियुक्त मात्र पक्राउ नपरेको भन्दै ती मान्छे पनि भारतमा लुकेर बसेको र भारतीय प्रहरीसँग समन्वय गरेर ल्याउने प्रयास गरिरहेको बताए । ‘त्यो बाहेक अनुसन्धान नगरिएको, कारबाही नगरिएको, गुण्डागर्दी बढेको, कुनै पनि अपराध घटाएर भागेको कुन चै घटना छ ? छैन । किनकि तपाई हाम्रो सहयोग छ,’ डिएसपी बस्नेतले भने । 

'जुध्न जानेको सिंग खुस्कियो भनेर पीर मान्नु हुदैन '

डिएसपी बस्नेतले सर्दु खोलामा झडप हुनु दुई दिनअघि धरान ११ मंगलबारे चोकमा हर्क साम्पाङको टोलीले महिला प्रहरीमाथि हातपात र अभद्र व्यवहार गरेको बताएका छन् । उक्त घटना पछि निगरानीमा रहेको समुहले नै पछि सर्दु खोलामा गएर जेसिबिका कामदारहरुलाई धम्की दिने, कुट्ने गरेपछि प्रतिकारमा उनीहरु पनि कुटिएको डिएसपी बस्नेतले बताए । 

dsp

‘महिला प्रहरीलाई हातपात गर्ने समुह नै सर्दु खोलामा गएर जेसिबि र कामदारलाई थर्काएको, कुटिएको भन्ने खबर आयो । प्रतिकार गर्दा उनीहरु कुटिएको अवस्था छ,’डिएसपी बस्नेतले भने,‘अराजक शैलीमा जे गर्दा पनि हुन्छ, मलाई छुट हुन्छ भनेजस्तो देखिन्छ । आज हेल्मेट लगाएर आइज, मलाई रोक्न सक्छस् भने रोक भनेर सार्वजनिक आह्वान गर्ने मान्छेले के खालको गतिविधि गर्छ भन्ने अनुमान गर्न सकिन्छ । झगडा हुन लाग्यो भन्ने थाह पाएर तुरुन्त टोली पठाउदा झगडा भइसकेको रहेछ, र थप क्षति हुन नपाएको अवस्था हो ।’

डिएसपी बस्नेतले ‘म कसैलाई कुट्न जादैछुँ’ भनेपछि कुट्न जाने, निहुँ खोजेर जानेको पहिला हिसाबकिताब हुने बताए । उनले जुध्न जानेको सिंग खुस्कियो भनेर पीर मान्न नहुने तर्क गरे । ‘जुध्न जानेको सिंग खुस्कियो भनेर पीर मान्नु त भएन । जुध्न जानु हुदैनथियो, त्यो नगएको भए त्यस्तो अवस्था आउने थिएन भन्ने बुझ्नु पर्छ,’डिएसपी बस्नेतले भने,‘त्यसैले ज जसले हामीलाई कुटे भनेर जाहेरी आयो, त्यही जाहेरीमा उल्लेख भएका नियन्त्रणमा लिएर मुद्दा दर्ता भएर चलिरहेको अवस्था छ । आग्रह, पुर्वाग्रह कसैको केही छैन । फेसबुक हेरेर, एक पक्षीय कुरा गरेबाट सार्वजनिक धारणा बनाउनु हुदैन ।’

डिएसपी बस्नेतले ३ जना छुटेको सन्दर्भमा यो मुद्दा जिल्ला प्रहरी कार्यालयबाट दर्ता भएर कारबाही अघि बढीरहेकोले आफुलाई धेरै जानकारी नभएको तर वयान सकिएपछि छुटेको भन्ने जानकारी आएको बताए । उनले पक्राउ परेकाहरुको बिषयमा पनि जाहेरी परेपछि नै पक्राउ परेको प्रष्ट्याएका थिए ।