धरान: अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई स्पष्टीकरण सोधिएपछि आन्दोलित बनेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई नै स्पष्टीकरण मागेका छन् । 

आन्दोलनको दोस्रो दिन बुधबार विरोध र्याली निकालेका चिकित्सक एवं विद्यार्थीहरुले उपकुलपति डा.गिरीको प्राध्यापक उपाधिमाथि नै प्रश्न उठाएका छन् । साथै उनीहरुले प्राध्यापक उपाधि कुन मितिमा र कुन विश्वविद्यालयले प्रदान गरेको हो भनेर प्रष्ट पार्न पनि उपकुलपति गिरीसँग माग गरेका छन् । करिब १४ महिना अघि उपकुलपतिमा नियुक्त भएका गिरीको प्राध्यापक उपाधिबारे प्रश्न उठ्ने गरेको छ । उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक उपाधि नै नपाइ प्राध्यापक डाक्टर लेख्ने गरेको आरोप लाग्ने गरेको छ । प्रतिष्ठानका उपकुलपति हुनको लागि प्राध्यापक उपाधि प्राप्त गरेको व्यक्ति हुनुपर्छ ।

फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेललाई स्पष्टीकरण सोधेका उपकुलपति डा.गिरीलाई नै आन्दोलित चिकित्सक तथा विद्यार्थीहरुले प्राध्यापक उपाधिबारे प्रष्ट पार्न माग गरेका हुन् । उनीहरुले कुन मितिमा, कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? यसबारेमा प्रष्ट पार्न आग्रह गरेका छन् । आज(बुधबार) बिहान धरानमा निकालिएको विरोध र्यालीमा पनि उनीहरुले यही प्रश्न लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले उपकुलपति डा.गिरीका सोधहरु कुन कुन जर्नलमा, कहिले कहिले प्रकाशित भएको छ ? भनेर पनि थप प्रश्न गरेका छन् । 

bp-doc-andolan2

फ्याकल्टी सोसाइटीका महासचिव डा.एस.पी.रिमालले उपकुलपति डा.गिरी प्राध्यापक उपाधि नपाएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आइरहेको कारण वास्तविकता प्रष्ट पार्न माग गरिएको बताउँछन् । ‘उहाँलाई प्राध्यापक होइन भनेर समाचारहरु आइरहेको छ, यसले उहाँलाई मात्र होइन, हामीलाई पनि र वीपी प्रतिष्ठानकै प्रतिष्ठानमा आँच पुगेको छ,’डा.रिमालले भने,‘त्यही भएर हामीले प्राध्यापक उपाधिको डकुमेन्ट र सोध मागेका हौं, हामी पत्रकार मित्रहरुलाई देखाइदिन्छौं, र भन्छौं कि हाम्रो उपकुलपति प्राध्यापक नै हुनुहुन्छ, तपाईहरुको आरोप झुटो हो भन्छौं । हामी त उपकलुपतिलाई सहयोग गर्न चाहन्छौं ।’

यस्तै, आन्दोलिन चिकित्सकहरुले विगत ३ बर्षदेखि रोकिएको प्रमोशन कहिले हुन्छ ? बढेको तलब कहिले पाउने ? यसबर्षको जोखिम भत्ता वितरण कहिलेसम्म सम्पन्न हुन्छ ? सरकारले अनिवार्य गरिसकेको प्रतिष्ठानको आफ्नै फार्मेसी कहिलेदेखि सञ्चालन हुन्छ ? आधुनिक फोहोर मैला व्यवस्थापन कहिले देखि हुन्छ ? लगायतका बिषयमा पनि उपकुलपति डा.गिरीसँग स्पष्टीकरण मागेका छन् ।

bp-doc-andolan1