विराटनगर: प्रदेश १ सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले सो निर्देशन दिनु भएको हो । विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकोले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् । मन्त्री राईले निर्देशन दिदै भनिन्,‘हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन ।’

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारीमा रहन निर्देशन दिँदै उनले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन् । कोरोना परास्तका लागि सवै एकजुट भए मात्र सम्भव हुने उनको भनाई थियो । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् । मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सवै पालिकाहरुको अवस्था, आवस्यकता र तयारी सहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरि आवश्यक तयारी सहित सम्पूर्ण जानकारी र माग मन्त्रालयमा तत्काल पेश गर्न पनि निर्देशन दिइन् ।

मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको  सहभागिता रहेको थियो ।