धरानः तीन दिने भेरो सेल खोप अभियानको क्रममा व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई व्यवस्थित गर्ने जनाएको छ । 

खोप केन्द्रमा अव्यवस्थित भएको, लक्षित समुहले खोप लगाउन नपाउदा पहुँचको भरमा अन्यले नै खोप लगाएको जस्ता गुनासो चौतर्फी आएपछि उपमहानगरले आगामी दिनमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । खोप अभियान सम्बन्धमा बिहिबार मेयर मेयर तिलक राईको कार्यकक्षमा समिक्षात्मक बैठकले यस्तो निर्णय गरेको मेयरका प्रेस संयोजक पारस राईले जानकारी दिएका छन् । 

धरानमा सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए । लक्षित समुहबाहेक राजनीतिक दलका नेता, कार्यकर्ता, आफन्तहरुले पहुँचको भरमा खोप लगाएको व्यापक गुनासो सर्वसाधारणहरुले गरेका छन् ।

उपमहानगरका वरिष्ठ प्रशासकिय अधिकृत गणेश खतिवडाले हालसम्म स्वास्थ्य महाशाखाले मात्र खोप केन्द्रहरुमा समन्वय गरेर खोप कार्यक्रम भएको थियो । अभियानको क्रममा खोप केन्द्रहरुमा स्वयमसेवकहरु पनि परिचालन भएका थिए । यसरी पनि खोप कार्यक्रम भनेजति व्यवस्थित हुन नसकेकोले अब उपमहानगरपालिकाको प्रशासनले कर्मचारी व्यवस्थापन, अनुगमन, समन्वयलगायतको काम गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए । ‘खोप केन्द्रमा स्वास्थ्य महाशाखाले खोप लगाउने, स्वास्थ्यकर्मी व्यवस्थापनको काम गर्छ, अन्य कर्मचारीको व्यवस्थापन गर्ने, अनुमगनको व्यवस्थापन गर्ने र समन्वय गर्नेलगायत कामहरु प्रशासनिक भएकाले प्रशासनले गर्ने निर्णय भएको छ, त्यसै अनुसार हामी त्यो तयारीमा लागको छौं,’ खतिवडाले भने ।

धरानमा अब केही दिनपछि अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदैछ । उक्त खोप अहिले तोकिएका ७ वटा खोप केन्द्रहरुमा उपमहानगरपालिकाले आवश्यक कर्मचारी छनौट गरेर खटाउने खतिवडाले जानकारी दिए । ‘खोप केन्द्रहरुमा कति कर्मचारीहरु आवश्यक पर्छ ? यसको लागि उपमहानगरपालिकाको प्रशासन शाखाले पूर्व तयारी गरिरहेको छ । खोप केन्द्रमा कस्ले लेख्ने ? कस्को जिम्मेवारी के हो, भनेर हामी अगाडि नै तोक्दैछौं,’उनले भने ।

यसअघि तीन दिनसम्म छुटेका ५५ बर्ष माथि उमेर समुहको पनि तथ्यांक वडाहरुमा माग्ने तयारी उपमहानगरले गरेको छ । अब जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लक्षित गरेर लगाउनुपर्ने भएकोले यो समूहका व्यक्तिहरुको तथ्यांक पनि प्रत्येक वडाहरुमा संकलन गरिने उपमहानगरको भनाई छ । यसरी संकलन भएको २० वटा वडाको तथ्यांकको आधारमा आधारमा खोप लगाईने भएको छ ।