धरान: हरेक क्षेत्र र सानोभन्दा सानो कुरामा राजनीति हुने मुलुकमा कोरोना विरुद्धको खोपमा नहुने कुरै भएन । पहुँच र शक्तिको आडमा सकेसम्म सबै राजनीतिक दलहरुले मापदण्ड नपुगेका आफ्ना नेता, कार्यकर्ता र आफन्तहरुलाई खोप लगाइदिए । आफ्नो स्वास्र्थ मिल्दा चुप लाग्ने तिनै राजनीतिक दलहरु स्वार्थ पुरा नहुदा भने एकअर्काविरुद्ध उत्रिन्छन् । 

विराटनगरमा मेयर भिम पराजुलीले एक नेताको घरमा लगेर कार्यकर्ताहरुलाई खोप लगाइरहेको भेटेपछि स्थानीयले लखेटेको सार्वजनिक भएको छ । यता धरानमा पनि कांग्रेस र एमालेले होटल तथा ट्रेनिङ सेन्टरमा आफ्नाहरुलाई खोप लगाइदिएको कुरा सञ्चारमाध्यमबाट सार्वजनिक भयो । यसबिषयमा धरानका विभिन्न ७ राजनीतिक दलहरुले बिहिबार संयुक्त विज्ञप्ती जारी गर्दै मेयर र उपमेयरले गैरजिम्मेवार भएको भन्दै विरोध मात्र जनाएनन्, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको लागि छुट्याइएको ५ सय डोज खोप वेपत्ता बनाएर दुरुपयोग गरेको गम्भीर आरोपसमेत लगाए ।

दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वीपीका स्वास्थ्यकर्मीलाई भनेर छुट्याइएको ५ सय डोज खोप वेपत्ता पारेर दुरुपयोग गरेको आरोप लगाएका छन् भने मापदण्ड बाहिरका आफ्ना नेता, कार्यकर्ता, नातागोताहरुलाई विभिन्न होटल, ट्रेनिङ सेन्टर, नेताका घर, केही विद्यालयहरुसमेत बोलाएर खोप लगाएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । कुनै खोप केन्द्रमा राती ९ बजेसम्म नेता, कार्यकर्ताहरुलाई खोप लगाएको सुचना आफुहरुले पाएको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्ती जारी गर्नेहरुमा एमाले धरानका अध्यक्ष नारायण सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव सुदर्शन श्रेष्ठ, जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बु, संघीय लिम्बुवान मञ्चका अध्यक्ष सन्जुहाङ लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टी धरानका अध्यक्ष चित्र मगर, राप्रपा नेपालका दोर्जे शेर्पा र नेकपा मालेका एकराज सुव्वा रहेका छन् । 

वीपी भन्छ,'५ सय डोज खोप पाइसक्यौं'

धरानका विभिन्न ७ राजनीतिक दलहरुले वीपी प्रतिष्ठानलाई छुट्याइएको ५ सय खोप वेपत्ता पारेर दुरुपयोग गरेको आरोप लगाए पनि उक्त खोप वीपी प्रतिष्ठानले पाइसकेको छ । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले वीपीको लागि छुट्याइएको खोप पठाइसकेको जानकारी दिए । उनले भने,‘वीपीलाई भनेर छुट्याइएको खोप अरुतिर जाने कुरा नै छैन, हामीले बुझाइसकेका छौं ।’

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालले क्लिकधरानसँग कुरा गर्दै उपमहानगरपालिकाबाट ५ सय खोप प्राप्त भएको बताए । ‘नगरपालिकाबाट आउनुपर्ने ५ सय खोप हामीले पाइसकेका छौं, यसले छुटेका हाम्रा फ्रन्टलाइनरहरुलाई राहत हुनेछ,’उनले भने,‘के हल्ला भयो थाह भएन, तर नगरपालिकाबाट आउनुपर्ने खोप आइसक्यो ।’ 

khop politics1